काठमाडौं । प्रदेश न. १ मा १० वर्षमुनिका बालिका बलात्कारका घटना अधिक देखिएको छ । अन्य प्रदेशको तुलनामा हेर्दा प्रदेश १ मा १० वर्षमुनिका बालिकामाथि भएको बलात्कारका घटना धेरै देखिएको हो । प्रहरी प्रधान कार्यालय काठमाडौंले आर्थिक वर्ष २०७८/०७९ को असोज मसान्तसम्म जारी गरेको तथ्याङ्कलाई हेर्ने हो भने प्रदेश १ मा मात्रै २४ बालिका बलात्कृत भएका छन् ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको विगत ५ वर्षको तथ्याङ्क हेर्ने हो भने आ.व.०७६/०७७ बाहेक अन्य वर्ष प्रदेश १ मा बलात्कारका धेरै घटना देखिएको छ । आ.व.०७४/०७५ मा कुल २६१ घटनामध्ये ६८ घटना प्रदेश १ मा भएको छ । यो संख्या आ.व.०७५/०७६ बृद्धि भई ७९ मा पुगेको देखिन्छ । तर आ.व.०७६/०७७ मा भने यो संख्या ५१ म झरेको थियो । सोही वर्ष देशभर १० वर्ष मुनिका २७३ बालिका बलात्कार भएको घटना दर्ता भएको थियो ।
विश्वव्यापी महामारीले सिंगो देश नै लकडाउनमा परेको आ.व. ०७७ /०७८ मा भने प्रदेश १ मा बालिकामाथिको बलात्कार संख्या बढेको देखिन्छ । यो वर्ष देशभर ३०५ बालिकामाथि बलात्कार भएको देखिन्छ । जसमध्ये प्रदेश १ मा मात्रै ७२ घटना छन् । यो वर्ष प्रदेश १ को प्रत्येक जिल्लामा १० वर्ष मुनिका सरदर ६ बालिका बलात्कार भएको देखिन्छ ।
चालु आ.व. ०७८/०७९ को असोज मसान्तसम्मको तथ्याङक अनुसार देशभर १० वर्षमुनिका ९५ बालिका बलात्कार भएको घटना दर्ता भएको छ । प्रहरीको तथ्याङक अनुसार यो समयभित्र प्रदेश १ मा मात्रै २४ जना बालिका बलात्कार भएका छन् ।