रसुवाका २३ वटा वडामा कांग्रेस अधिवेशन सम्पन्न

रसुवा । रसुवाका २३ वटा वडामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका २७ वटा वडा मध्ये २३ वटा वडाको अधिवेशन सम्पन्न भएको हो ।

जिल्लाको क्रियाशील सदस्यता विवादका कारण लामो समयदेखि रोकिएको वडा अधिवेशन आइतबार भएको छ । अधिकांश वडामा सर्वसम्मतिबाट नेतृत्व चयन भएको छ । केही वडामा भने मतदान प्रक्रियाबाट नेतृत्व छानिएको छ ।

हालसम्म जिल्लाको कालिका गाउँपालिकाको पाँच वटै वडा र आमाछोदिङ्मो गाउँपालिकाको पाँच वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

त्यसैगरि, उत्तरगया गाउँपालिकाको वडा नम्बर १ र ४ मा सहमतिबाट नेतृत्व चयन भएको छ । वडा नम्बर ५ मा भने निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको नेपाली कांग्रेस रसुवाले जनाएको छ । वडा नम्बर २ र ३ मा सर्वसम्मको प्रयास भइरहेको कांग्रस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले बताए ।

त्यसैगरि नौकुण्ड गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५ मा सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ । वडा नम्बर ६ मा भने सहमतिको प्रयास भइरहेको छ ।

त्यसैगरि गोसाईंकुण्ड गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५ मा सर्वसम्मत नेतृत्व चयन भएको छ भने वडा नम्बर ६ मा सहमति प्रयास भइरहेको छ ।

जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न गराउनका लागि केन्द्रबाट तोकिएका निर्वाचन अधिकृत सुमनकुमार केसी र सहायक निर्वाचन अधिकृत जनक सिंह साउद खटिएका छन् । उनीहरूले अधिवेशन सम्पन्न गराउनका लागि जिल्लाका २७ वटै वडामा शिक्षक महासंघमा आबद्ध प्रतिनिधिलाई अधिकृतको रूपमा खटाएका छन् ।

कार्तिक ३० गते नेपाली कांग्रेस रसुवाको पालिका अधिवेशन गराउने भनिएको छ । तर, जिल्लाको चार वटा वडामा नेतृत्व चयन हुन बाँकी रहेको छ । सबै वडामा नेतृत्व चयन पश्चात् पालिका अधिवेशनका लागि प्रक्रियामा जाने निर्वाचन अधिकृत केसीले बताए । ‘केही वडाको नेतृत्व चयन भएका पदाधिकारीको वर्जिनल डकुमेन्ट आइपुगेको छ । अधिकांश वडाको आउन बाँकी छ ,’ उनले भने, ‘सबै वडाको डकुमेन्ट आएपछि मात्र पालिका अधिवेशन सुरु हुन्छ ।

वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यहरूको नामावली काटेर फर्म नै नभरेकालाई सदस्यता प्रदान गरेपछि विवाद भएको थियो । शुक्रबार जिल्ला कार्यसमितिको बैठक बसी काटिएका नामावली पुनः समावेश गराएसँगै विवाद समाधान भएको थियो । र, आइतबार वडा अधिवेशन सुरु भएको थियो ।

निर्वाचन अधिकृत केसीका अनुसार जिल्लामा नेपाली कांग्रेसको ३ हजार ९ सय ६४ क्रियाशील सदस्य रहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.