विप्लवको बन्द कहाँ के भयो ? देशभर ५० बढी बन्दकर्ता पक्राउ (भिडियोसहित)

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंका सडकमा बिहानैदेखि आंशिक प्रभाव परेको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द गरेको आह्वान हो । नेपाल बन्दका कारण काठमाडौंमा विहानैदेखि सार्वजनिक सवारीहरु कम चलेका छन् ।

यात्रुले बिहानै सास्ती भोगेका छन् । सार्वजनिक गाडी कुरेर बसे पनि पाउन सकेका छैनन् । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रुहरु पनि विभिन्न ठाउँमा अलपत्र परेका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् ।

बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।

लुम्बिनी प्रदेशमा बिहानैदेखि बन्दको प्रभाव, यातायात ठप्प

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशका जिल्लामा बिहानैदेखि परेको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । बन्दका कारण लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको हो ।

बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प छन् । सहरका केही भित्री भागमा भने पसल फाटफु खुलेका छन् । कतिपय जिल्लामा सीमित मात्रामा मोटरसाइकल चलेका छन् ।

बुटवलमा भने केही स्थानमा मात्र आन्दोलनकारी देखिएका छन् । मुख्य सडकका धेरै ठाउँमा आन्दोलनकारी छैनन् । ठाउँठाउँमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ ।

बन्द सफल पार्न भन्दै सोमबार साँझ जिल्ला जिल्लामा नेकपाका कार्यकर्ताले मसाल जुलुस निकालेका थिए । शिक्षण संस्थाले भने बन्दका कारण पठनपाठन सञ्चालन गर्न असहज हुने भन्दै सोमबार नै पढाइ नहुने सूचना जारी गरेका थिए ।

बन्दका कारण यात्रुहरुले भने सास्ती पाएका छन् । विभिन्न स्थानमा यात्रु गाडी करिरहेका देखिन्छन् । तर गाडी नपाउँदा उनीहरु अलपत्र छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ ।

बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पोखराबाट पक्राउ, यातायात ठप्प

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्दको असर पोखरामा पनि परेको छ । प्रहरीले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ ।

बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीका डीएसपी सुन्दर तिवारीले पक्राउ परेकासँग सोधपुछ भइरहेको बताए ।

नेकपाका कार्यकर्ताले पोखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

पोखरामा बिहानैदेिख बन्दको प्रभाव छ । सार्वजनिक यातायात ठप्प छ भने निजी सवारीसाधन पनि फाट्टफुट्ट गुडेका छन् । बजार बन्द छ। अत्याश्यक ढुवानीका मालबाहक गाडी भने चलिरहेका छन् ।

तनहुँमा ११ जना बन्दकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका कार्यकर्तालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए ।

सदरमुकाम दमौलीस्थित ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर संगठनको जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशंकर लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपाले आह्ववान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । सडक र बजार सुनसान छ ।

भिडियो :

https://www.facebook.com/100014324790056/videos/576974536925386/

© 2021 Quicknepal.com  |  All Rights Reserved.