अबको चुनावमा कोसँग मिल्लान प्रचण्ड ?

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकीकरण भयो । एकताको घोषणा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बालुवाटारमा वनस्पति जगतमा जीवित जीवाश्म (लिभिङ फोसिल) भनेर चिनिने गिङ्को बिलोबाको विरुवा रोपेर गरेका थिए ।

आफूले जता औँला घुमायो, पार्टीलाई त्यतै घुमाएका प्रचण्ड एमालेसँगको एकता पछिका करिव दुई वर्ष दोस्रो हैसियतमा मात्र होइन, अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोगीका रूपमा मात्र सीमित हुन पुगे ।

प्रचण्डले पार्टी एकता गर्दा ओलीसँग आलोपालो प्रधानमन्त्रीमा सहमति गरेका थिए । साढे दुई वर्षमा कार्यकाल बाँड्ने सहमति थियो । तर, भद्र सहमति अभद्र तरिकाले उल्लंघन गरेपछि प्रचण्डले साढे दुई वर्षपछि असन्तुष्टि सार्वजनिक गर्न थाले ।

पार्टी एकतापछि ओलीले प्रचण्डलाई हातमा लिएर बाँकीमाथि ‘डोजर’ चलाउन सुरु गरेका थिए । यसैले एमालेको माधवकुमार नेपाल खेमा प्रचण्डभन्दा अघिदेखि नै ओलीसँग असन्तुष्ट थियो ।

प्रचण्डले त्यही असन्तुष्टिलाई ओलीविरुद्धको हतियार बनाए । ओलीले सहमति कार्यान्वयन नगरेपछि नेपाल खेमासँग जोडिएर प्रचण्डले असन्तुष्टि चरम चुलीमा पु¥याउन सफल भए ।

प्रचण्ड–नेपाल समूहको अगुवाइमा नेकपाको केन्द्रीय समितिले ओलीलाई पार्टीको अध्यक्ष र दलको नेताबाट पनि हटाइदियो ।

राजनीतिका चतुर खेलाडी ओलीले संसद् विघटन गरेर फरक परिस्थिति निर्माण गरे । सर्वोच्च अदालतको फैसलाले संसद् पुनःस्थापना भएपछि प्रचण्डका लागि तत्कालीन नेकपाको अध्यक्ष र प्रधानमन्त्री सुनिश्चित बनेको थियो । तर, सर्वोच्चकै फागुन २३ गतेको फैसलाले त्यो अवसरबाट पनि वञ्चित गरायो ।एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रूपमा संसद्लाई आफूमाथिको खतराका रूपमा लिँदै जेठ ८ गते दोस्रो पटक संसद् विघटन गरे ।

सर्वोच्चले सांसदहरूको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष गरेको दाबीअनुसार कांग्रेस सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दियोे । झन्डै दुईतिहाइ बहुमत सहितका ओली सत्ताबाट प्रतिपक्षमा पुगे ।

निरन्तर नेतृत्वमा प्रचण्ड

नेकपा (माओवादी) बन्नुभन्दा ६ वर्ष अघिदेखि तत्कालीन मशालका महामन्त्री भएर सुरु भएको उनको नेतृत्व ३२ वर्षयता निरन्तर छ । प्रत्येक महाधिवेशनले नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने छैन माओवादी नेता दिनानाथ शर्मा बताउँछन् ।

हाम्रो अबको बाटो भनेको समावेशी समानुपातिक सिद्धान्तको धरातालमा लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्ने समाजवादी अर्थतन्त्रको निर्माण गर्ने समृद्ध नेपाल र सुखी नेपाली बनाउने हो, शर्माले भने ।

अहिलेसम्म माओवादीलाई हेर्दा अबको अध्यक्ष पनि प्रचण्ड नै हुनेछन् । एमाले र माओवादीमा कुनै पनि प्रतिस्पर्धी छैनन् ।

पार्टीभित्र विकल्प नै नरहने गरी प्रतिस्पर्धीहरु निक्लदै गएपछि पार्टी सानो भएकोमा प्रचण्डलाई मतलब छैन तर उनलाई नमरुन्जेल केन्द्रमा रहनु छ । उनमा मोहनविक्रम प्रवृति हावी छ । अबपनि प्रचण्डको रणनीति आफू केन्द्रमा नै रहने हो, राजनीतिक विश्लेषक मुमाराम खनाल बुझाइ छ ।

उनको राजनीतिक जीवन नै एउटा आरोह–अवरोहको शृङ्खला बनेको छ । २०७० सालको निर्वाचनामा पार्टीलाई आएको तेस्रो र कमजोर मत स्वीकार गरेका प्रचण्डले त्यसयता कुनै न कुनै दलसँग गठबन्धन गरेर पार्टीलाई अस्तित्वमा राखिरहेका छन् ।

अबको निर्वाचनमा कोसँग मिल्लान प्रचण्ड ?

अगामी चुनावसम्म गठबन्धन रहन्छ, चुनावमा नै जाने सम्भावना पनि छ, हामी त्यो सम्भावनालाई अस्वीकार गर्न सक्दैनौँ । माओवादी नेता दिनानाथ शर्मा बताउछन् ।

राजनीतिमा असम्भव भन्ने कुरा केही नहुने कुरा पुष्टि भइसकेको छ । हिजो टाउकाको मूल्य तोक्ने देउवा प्रचण्डसँग मिलेर चुनाव लडे । चुनावी तालमेल अघिसम्म रणनीतिक रुपमा जसपा, एस र काङग्रेससँग हुनुपर्ने नैतिक दवाव छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.