काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पिएनजी) सँगको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेलमा जित निकालेको छ । मङ्गलबार भएको खेलमा नेपालले पिएनजीमाथि २ विकेटको जित दर्ता गरेको छ ।
ओमानस्थित अल अमिरत रङ्गशालामा टस जित्दै पिएजनीले नेपाललाई बलिङको निम्तो दिएको थियो । सुरुवातबाट नै कसिलो बलिङ गरेको नेपालले दोस्रो ओभरमा विकेटको खाता खोलेको थियो । एक दिवसीयमा डेब्यु गरेको पहिलो बलमा नै विक्रम सोबले टोनी उरालाई बोल्ड आउट गर्दै नेपाल र आफ्ना लागि सुन्दर सुरुवात गरेका थिए ।
चौथो ओभरको अन्तिम बलमा विक्रम सोबले असाद भालालाई विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराएका थिए । इनिङ्सभरि ५ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै २० रन दिएर दुई विकेट लिएका छन् । १२औँ ओभरको पाँचौँ बलमा सन्दीप लामिछानेले चार्ल्स अमिनीलाई विकेटकिपर शेखबाट नै क्याच आउट गराउँदै नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।
नेपालका लागि चौथो विकेट कुशल मल्लको नाममा रह्यो । १३औँ ओभरमा बलिङ गर्न आएका उनले आफ्नो पहिलो ओभरको पाँचौँ बलमा लेगा सियाकालाई कट एन्ड बोल्ड गरेका थिए । २०औं ओभरको पहिलो बलमा सन्दिप लामिछानेले आफ्नो लागि दोस्रो र नेपालको लागि पाँचौँ विकेट लिन सफल भए । लामिछानेले सेसे बाउलाई कुशल मल्लमार्फत क्याच आउट गराएका थिए ।
पिएनजीको छैटौँ विकेट नेपाली अलराउण्डर कुशल मल्लको नाममा रह्यो । २३औँ ओभरको बलिङ लिएर आएका मल्लले ओभरको पाँचौं बलमा किप्लिन डोरीगालाई कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए ।
२४औँ ओभरमा नेपाललाई सातौँ सफलता सन्दिप लामिछानेले दिए । विकेटमा आएर तीन बलको सामना गरेका जोसन किला कुनै रन नै जोड्न नसकि लामिछानेको एलबिडब्ल्यू धरापमा परेका थिए ।
पिएनजीको आठौँ विकेटका रूपमा गाउडी टोकाले क्रिज छाडेका थिए । बिनाविकेट निकै खर्चिलो देखिएका सोमपाल कामीले टोकाको विकेट लिँदै आफ्नो नाममा पहिलो विकेट लेखाएका थिए ।
कामीको सोही ओभरमा नेपालले पिएनजीको नवौं विकेट लिन सफल भयो । कामीको बलमा च्याड सेफर रन लिन क्रिजमा कुदे । उनीसँगै डामियन राभू पनि दौडिएका थिए । तर मैदानमा नेपाली फिल्डरले उत्कृष्ट प्रदर्शन गर्दै राभूलाई रन आउट गर्दै खेलको मोमेन्टम आफ्नो पक्षमा बनाए ।
३३औं ओभरमा नोसैना पोकनालाई एलबिडब्ल्यू धरापमा पार्दै सन्दीप लामिछानेले पिएनजीको इनिङस् समाप्त पारिदिएका थिए ।
नेपालको लागि सर्वाधिक विकेट सन्दीप लामिछानेको नाममा रह्यो । चार विकेट लिएका उनले दश ओभर बलिङ गर्दै ३५ रन खर्चिएका थिए । निकै किफायती बलिङ गरेको नेपालले खेल अवधिभर पाँच वाइड बल फालेको थियो । र खेलका सबै वाइड बल लामिछानेकै नाममा रह्यो ।
पिएनजीका लागि ओपनर लेगा सियाकाले सर्वाधिक रन जोडेका थिए । ३८ बलको सामना गरेका उनले एक चौका र एक छक्कासहित ३० रन जोडेका थिए । सियाकाबाहेक पिएनजीका अन्य पाँच खेलाडीले मात्र दोहोरो अङ्कको रन जोड्न सफल भएका थिए ।
चार्ल्स अमिनीले २३, गाउडी टोकाले २२, च्याड सेफर १७ (नट आउट), किप्लिन डोरीगा १५ र सेसे बाउले १४ रन जोड्नुबाहेक अन्य खेलाडीको प्रदर्शन बिर्सिनलायक रह्यो । ३३औं ओभरमा अलआउट भएको पिएनजी २५औं ओभरमा एक सय रन जोड्न सफल भएको थियो ।
सन्दीप लामिछानेले चार, कुशल मल्ल र विक्रम सोबले समान दुई, सोमपाल कामीले एक विकेट लिँदा पिएनजीका एक खेलाडी रन आउट भएका थिए ।
जवाफी ब्याटिङमा नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गरेको हो । हारतर्फ अग्रसर नेपाललाई रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाए ।
रोहितले सर्वाधिक धेरै ४१ रन बनाए । ४५ बल खेलेका उनले २ चाैका प्रहार गरेका थिए । यस्तै, सोमपालले अजिवित रहँदै २२ रनको याेगदान दिए । ३२ बल खेलेका उनले एक चाैका र एक छक्का हिर्काए ।
यस्तै, आसिफ शेखले ४६ बल खेल्दा चार चौकाको सहायतमा ३० रन जोडे । यस्तै, कुशल भुर्तेलले २८ बल खेल्दा दुई चौकाको मद्दतमा १५ रन बनाए ।
यस्तै, आरिफ शेखले ९ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर ६–६ रनमा आउट भए । कुशल मल्लले १ रन जोडेर पेभेलियन फर्किँदा पवन सराफ शून्य रनै बाहिरिए ।
नेपाली टोलीले आइसिसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिज खेलेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग २–२ खेल खेल्ने छ ।
आइसिसी विश्वकप क्रिकेट लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई जित निकाल्दा दुई खेलमा नजित सुम्पिएको छ । घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा चा अङ्क जोडेको छ । नेपाल छैटौँ स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । पिएनजीले आठ खेल खेल्दा अङ्कको खाता खोल्न सकेको छैन ।