स्वास्थ्य शिविरबाट ६ सय ५० जनाले सेवा पाए
आँखा, नाक, कान, घाँटी र अपांगता भएका व्यक्तिहरूका लागि शिविर सञ्चालन । स्वास्थ्य शिविरमा हुम्लाका ६ सय ५० जना नागरिकहरूले सेवा लिन पाए ।

हुम्ला । जिल्ला अस्पताल हुम्लामा १२ भदौदेखि सञ्चालन भएको स्वास्थ्य शिविरमा हुम्लाका ६ सय ५० जना नागरिकहरूले सेवा लिन पाएका छन् । आँखा, नाक, कान, घाँटी र अपांगता भएका व्यक्तिहरूका लागि शिविर सञ्चालन भएको थियो ।

हिमाली जिल्ला हुम्लाका लक्षित वर्गका व्यक्तिहरूका लागि केही राहत होस भन्ने उदेश्यका साथ जिल्ला बाहिरबाट आएको टोलीले निःशुल्क रुपमा शिविर सञ्चालन गरेको थियो ।

गोर्खा वेल्फेयर ट्रष्ट नामक संस्थाको आर्थिक सहयोग तथा जिल्ला अस्पताल र सिमकोट गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन भएको हो । शिविरमा आँखा, नाक, कान, घाँटी र हात खुट्टामा समस्या भएका व्यक्तिहरूलाई निःशुल्क रुपमा उपचार र औषधि प्रदान गरिएको शिविर सञ्चालकका म्यानेजर जय लिम्बुले बताए ।

१२ भदौदेखि चार दिनसम्म सञ्चालन गरिएको शिविरमा जिल्लाका सातवटै गाउँपालिकाका दुई सय ९३ जना कान, दुई सय ९५ जना आँखा, ४५ जना अपांगता भएका व्यक्ति र अन्य १७ जना महिला पुरुष र बालबालिकासहित ६ सय ५० जनालाई सेवा दिएको  म्यानेजर लिम्वुले बताए ।

त्यस्तै, आँखा, कान र अपांगता भएका व्यक्ति गरेर १५ जनालाई जिल्ला बाहिर काठमाडाैँ र नेपालगञ्ज पठाइएको लिम्बुले बताए । उनकाअनुसार उनीहरुहरूलाई थप उपचारका लागि जिल्ला बाहिर पठाउनु परेको र उपचार खर्च गोर्खा वेल्फेयर नामक संस्था स्वयंले व्यहोर्ने छ ।

 दुर्गम जिल्लाका बिरामीहरू आर्थिक अभावका कारण जिल्ला बाहिर जान नसक्ने भएपछि शिविर सञ्चालन गरेको हाे । शिविरमा पाँच जना विशेषज्ञ चिकित्सक र २४ जना स्वास्थ्यकर्मी गरेर २८ जनाको टोलीले सेवा दिएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.