काक्रेविहार पुग्ने पर्यटकको पीडाः ‘धुलाम्मे सडकमा सेताम्मे भएर फर्किनुपर्छ’

सुर्खेत । सुर्खेतको काक्रेविहार कर्णाली प्रदेशको राजाधानी सुर्खेतमा अवस्थित एक पुरातात्त्विक महत्व बोकेको महत्वपूर्ण पर्यटकीय स्थल हो । यहाँ दैनिक रूपमा सयौँको संख्यामा पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ ।

कोरोना संक्रमण दर ओरालो लागेसँगै दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । काक्रेविहार अवलोकन गर्न जाँदा बाटोको अवस्था राम्रो नहुँदा त्यहाँ पुग्ने पर्यटकले सास्ती भोग्नु परेको छ । काक्रेबिहार भनेर सुन्दा उत्तिकै रहस्यमय ठाउँ र त्यहाँ पुग्न पनि बाटोको कारणले सास्ती खेप्नु परेको त्यहाँ पुग्ने पर्यटकहरू बताउँछन् ।

काक्रेविहार अवलोकन गर्नलाई शुक्रबार कन्चनपुरको महाकाली नगरपालिका– ४ कि दुर्गा बडुवालसहित उनको टिम सुर्खेत पुग्यो । बाटोमा विभिन्न अवरोधहरू पार गर्दै पुरातात्त्विक महत्व बोकेको काक्रेविहार पुग्न शुक्रबार साँझ वीरेन्द्रनगरमा बास भयो । पहिलोचोटी सुर्खेत पुगेको र किताबमा उल्लेख भएको काक्रेविहारको चित्र कतिबेला नजिकै पुगेर प्रत्यक्ष आखाँले हेर्न कतिबेला हेर्न पाउँला भन्ने उत्सुकता जागिरहेको थियो । कन्चनपुरदेखि काक्रेविहारको अवलोकन गर्न वीरेन्द्रनगर पुगेका दुर्गाको ५० जनाको टिमलाई कतिबेला उज्यालो होला अनि काक्रेविहार पुगौँला भन्ने उत्सुकताले मन चन्चल भएको थियो ।

बिहान सबेरै उठेर उनीहरूको टिम फ्रेस भएर काक्रेबिहार पुग्यो । पहिलोचोटी आएको र किताबमा देखेको काक्रेविहारलाई नजिकबाट प्रत्यक्ष रूपमा निहाल्न पाउँदा खुसीको सीमै रहेन । उनीहरू दंग परे, ढुंगा नै ढंगाले बनेको काक्रेविहारको चित्र आँखै अगाडि प्रत्यक्ष देखेकोमा । तर, काक्रेविहार पुग्ने बाटोको अवस्था देख्दा भने मन खिन्न भएको कन्चनपुरको महाकाली नगरपालिका– ४ कि गिता बडुवाल बताउँछिन् । काक्रेविहार पुग्दा मन प्रफुलित भयो ।

तर, यहाँसम्म पुग्ने बाटोको अवस्था हेर्दा यहाँको सरकारप्रति प्रश्न गर्न मन लाग्यो’, उनले भनिन्, ‘सरकार यहाँको दैलोमा रहेको पुरातात्त्विक महत्त्व बोकेको पर्यटकीय क्षेत्र काक्रेविहारको सडक स्तरोन्नति गर्न बजेट पुगेन कि ? ।’

कन्चनपुर हुँदा किताबमा पढन हेर्न पाउथ्यौँ । अहिले प्रत्यक्ष अवलोकन गर्न पाउँदा आफुहरूको मनमा नयाँ उत्साह पलाएको कन्चनपुरकी दुर्गा बडुवालको भनाइ छ । किताबमा पढ्न पाउँदा र काक्रेविहारकबारेमा सुन्दा अचम्म लाग्ने गर्थ्यो’, उनले भनिन्, ‘यहाँ पुगेर प्रत्यक्ष देख्दा धेरै कुराहरू थाहा पाउने अवसर मिल्यो ।’

प्रदेशको मुटुमा रहेको महत्वपूर्ण पर्यटकीय स्थलका रूपमा परिचित हुँदा पनि यहाँ पर्याप्त रूपमा पूर्वाधारको अभाव छ । मंगलगढी चोकदेखि काक्रेविहार पुग्दासम्म बाटोको समस्या छ । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा काक्रेविहार पुग्ने पर्यटक र स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन् । तर, पनि सरकारले बाटोको स्तरोन्तीमा चासो दिएको पाइँदैन । काक्रेविहार पुग्ने जम्मै पर्यटकहरू सास्ती खेप्दै काक्रेविहार पुग्ने गर्छन् । प्रदेशकै महत्वपुर्ण पर्यटकीय स्थल भए पनि सरकारले गम्भीर रूपमा चासो नदिएको त्यहाँ पुग्ने पर्यटकहरू बताउँछन् ।

पर्यटकहरु मनोरञ्जनका लागि आउने हो तर, उल्टै धुलाम्मे सडकमा सेताम्मे भएर फर्किनु परेको कन्चनपुरकी जेनिशा शाही बताउँछिन्, काक्रेविहार प्रदेशको दैलोमै रहे छ । तर, काक्रेविहारमा पर्यटकका लागि पर्याप्त रूपमा पूर्वाधार नहुँदा नमजा लागेको छ । पर्यटक मनोरञ्जनका लागि आउँछन् सेताम्मे धुलो खानलाई होइन । यो कुरा प्रदेश सरकारले बुझन जरूरी छ । प्रदेशको दैलोमा यस्तो महत्वपुर्ण पर्यटकीय स्थल जाने बाटोको यस्तो दूर्गति हुनु र पर्याप्त रूपमा पुर्वाधार नहुनु लाजमर्दो कुरा हो ।’

काक्रेविहार प्रदेशकै महत्वपूर्ण पर्यटकीय स्थल हो । यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्राउन काक्रेविहार भित्र पिउने पानी,केटाकेटीका लागि भुलिने ठाउँ लगायतका विभिन्न आर्कषक कुराहरू थप्नुपर्ने वीरेन्द्रनगर ९ का स्थनीय गोकुल शाही बताउँछन् ।

काक्रेविहार सडक निर्माणका लागि पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार मंगलगढीदेखि लाटिकोहिलीसम्म १६ करोडको टेन्डर भएर सम्झौताको क्रममा रहेको पूर्वाधार निर्देशनालय सुर्खेतले जनाएको छ ।

काक्रेविहार सडक निर्माणका लागि आशिस हाम्रो जेभी सुर्खेतसँग ठेक्का भएको र १३ करोडमा सम्झौता हुन सक्ने इन्जिनियर सूर्यबहादुर शाहीले बताए । उनका अनुसार आशिष हाम्रो जेभी सुर्खेतसँग ठेक्का भएको र नालासहितको २२ सय मिटर सडक कालोपत्रे गर्नुपर्ने छ,’ शाहीले भने, ‘सडक निर्माणका लागि ठेक्का पाएको आशिष हाम्रो जेभी सुर्खेतसँग सम्झौताको लागि छलफल भइरहेको छ ।’

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.