सुनिलको दुई गोलमा मछिन्द्र विजयी

काठमाडौं । सुनिल बलको दुई गोल मद्दतमा साबिक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ ।सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा मछिन्द्रले एनआरटीलाई २–१ ले पराजित गर्दै महत्त्वपूर्ण तिन अंक जोडेको हो ।

मछिन्द्रका लागि सुनिलले खेलको १२औ मिनेट र खेल सकिन १० मिनेट अघि गोल गरे । एनआरटीका लागि खेलको ५३ मिनेटमा एरिक विष्टले फ्रिकिकमा एक गोल गरे । खेलको १२ मिनेटमै सुनिल बलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । सुनिलले विशाल राईको पासमा पेनाल्टी बक्स भित्रबाट सेकेण्ड बारमा गोल गरेका थिए ।

दोस्रो हाफमा एनआरटीले बराबरी गोल फर्कायो । ५३औं मिनेटमा एनआरटीका एरिक विष्टले करिब ३० यार्डबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे ।८०औं मिनेटमा सुनिल बलले कप्तान सुजल श्रेष्ठको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि मछिन्द्रले २–१ को अग्रता बनायो ।

यस खेलसँगै पहिलो पटक विकेण्डमा आयोजना भएको लिगमा पहिलो चरणको खेल सकिएको छ । अब तीन दिनको विश्रामपछि आगामी शुक्रबारदेखि दोस्रो चरणका खेलहरू सुरु हुनेछ ।खेलको म्यान अफ दि म्याच दुई गोल गरेका सुनिल बल घोषित भए । आज नै भएको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले ११ गोलको बराबरी खेल्दै अंक बाढे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.