‘ए’ डिभिजन लिग पहिलो चरणः आर्मीलाई धक्का

काठमाडौं । कोरोना महामारी र त्यसपछि उब्जिएका विभिन्न प्रश्नका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरणको खेल सकिएको छ ।

सोमबार साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीचको खेल सकिएसँगै पहिलो चरणको खेल समाप्त भएको हो । शुक्रबार (३ मंसिर) बाट सुरु भएको लिगको पहिलो चरणमा ७ खेल भए ।

पहिलो चरणको खेल सकिँदा साविक विजेता मछिन्द्र फुटबल क्लब, कीर्तिमानी आठौं पटकको लिग विजेता मनाङ मर्स्याङ्दी क्लब, तीन पटकको लिगविजेता थ्रीस्टार क्लब र ब्रिगेड ब्वाइज क्लबले शतप्रतिशत जित निकाल्दै महत्वपूर्ण ३ अंक जोडे ।

साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लबले बराबर खेल्दै हार टारे भने एक अंक हासिल गरे ।

विभागीय एपीएफ फुटबल क्लब, न्युरोड टिम एनआरटी, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब भने पराजित भए ।

लिगको उद्घाटन खेलमा फ्रेन्ड्स र सातदोबाटोले गोलरहित बराबरी खेले । दोस्रो खेलमा संकटा र हिमालयन शेर्पाले १– १ गोलको बराबरी खेल्दा तेस्रो खेलमा च्यासल युथ क्लबलाई थ्री स्टार क्लबले ३– ० ले पराजित गर्‍यो ।

लिगको तेस्रो दिन तथा चौथो खेल रोमाञ्चक बन्दा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबलाई ३– २ ले पराजित गर्‍यो । पाँचौ खेलमा कीर्तिमानी आठौं पटकको विजेता मनाङले जावलाखेलसँग १– ० कठिन जित पायो । पहिलो चरणको छैटौं तथा विभागीय डर्बीको खेलमा साविक विजेता आर्मी नेपाल पुलिससँग १– १ गोलको बराबरीमा रोकियो । यस्तै अन्तिम खेलमा साविक विजता मछिन्द्रले प्रतिस्पर्धात्मक खेलमा न्युरोड टिम एनआरटीविरुद्ध २– १ को कठिन जित पायो ।

अघिल्लो वर्ष (२०७६) मा अन्तिम खेलमा लिग जित्न एक अंक आवश्यकता रहेको समय मछिन्द्रलाई १– ० ले नतिजा सुम्पिएको आर्मीले यस सिजन भने सुरुवाती खेलमै धक्का व्यहोर्‍यो । लिग जित्ने दाबीसहित प्रतियोगितामा होमिएको आर्मी सुरुआती खेलमै विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिससँग १– १ गोलको बराबरीमा रोकियो ।

सुरुवातबाट आक्रमक खेल खेलेको आर्मी नेपाल पुलिसको डिफेन्स लाइन भने चिर्न सकेन । पहिलो हाफमा पुलिसका खेलाडीले आर्मीको आक्रमणलाई रोक्न सफल भए । दोस्रो हाफमा दबाबकै बीच पुलिसले ‘सेट पिस’ मा गोल गर्‍यो । राष्ट्रिय टोलीका सदस्य तेज तामाङले प्रहार गरेको फ्रिकिकमा रक्षक सन्तोष हेमरुङले खेलको ५१ मिनेटमा हेडिङ गोल गरे । जससँगै दबाबकाबीच पुलिसले १– ० को अग्रता बनायो ।

आर्मीले गोल खाएपछि दुई खेलाडी परिवर्तन गर्‍यो । वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका विवेक बस्नेतले खेलको ६१ मिनेटमा डिफेन्समा पुलिसका खेलाडीले गरेको गल्तीको फाइदा उठाउँदै उत्कृष्ट गोल गरे । उनले मैदान प्रवेश गरेको तीन मिनेटमा गोल गरेका थिए ।

यस नतिजासँगै आर्मीलाई उपाधि यात्रामा केही कठिनाइ पक्कै हुनेछ । लिग जित्ने दाबी गरेको आर्मी पहिलो खेलमै रोकिन पुग्यो । आर्मीले यस बराबरीलाई लिएर नराम्रो भने पक्कै महसुस गरेको छैन । समग्रमा विभागीय प्रतिद्वन्द्वी बलियो भएकाले आर्मीले आगामी खेलमा आफ्नो अग्रपंक्तिमा सुधार गर्दै ३ अंकका लागि खेल्ने बताएको छ ।

यद्यपि लिग जित्न १३ मध्ये कम्तीमा ९ खेल जित्नुपर्ने हुँदा यस्ता बराबरीले भने टोलीको उपाधि यात्रामा निकै कठिनाइ पक्कै हुनेछ ।

यता, पहिलो चरणमा थ्री स्टारले प्रभावशाली प्रदर्शन गर्‍यो । ललितपुर डर्बीमा थ्रीस्टारले बलियो च्यासलविरुद्ध ३(० को सहज जित निकाल्यो । च्यासलविरुद्ध थ्री स्टारले तिनै गोल ‘सेट पिस’ मा गर्न सफल भएको थियो । जुन तीनै गोल डिफेन्डरबाट सम्भव भएको थियो ।

थ्री स्टारले आफ्नो बक्स, डिफेन्स लाइन, मिड लाइन र आक्रमणमा मजबुत प्रदर्शन गर्दै रवाफिलो जित पायो । थ्री स्टारको यस प्रदर्शनले लिगमा अन्य टोलीका लागि टाउको दुखाइको विषय बन्ने निश्चित छ ।

अन्य खेलमा भने त्यस्ता कुनै पनि आश्चर्यजनक नतिजा भने आएन । लिगमा ठूला टोलीले साना देखिएका टोलीलाई पराजित गरेका छन् । यता, लिगमा बलियो देखिएका मछिन्द्र र मनाङले भने आफ्नो मजुबत आक्रमणबाट भने त्यति सन्तुष्टि पाउन सकेन ।

सिंगल राउन्ड रोबिनको आधारमा जारी लिगमा जम्मा ९१ खेल आयोजना हुनेछन् । प्रत्येक टोलीले १३ खेल खेल्दा एक टोली विजेता हुनेछ । प्रतियोगिताको विजेताले ७५ लाख, उपविजेताले ५० र तेस्रो हुने टोलीले २५ लाख पुरस्कार पाउँदा अन्य बरियताका क्लबले भने कुनै पुरस्कार पाउने छैनन् ।

लिगको प्रत्येक खेलको विजेताले ५० हजार पाउँदा अंक बाढ्ने टोलीले समान २५ हजार पाउनेछन् । खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछ । एन्फाले पहिलो पटक लिगलाई ‘फ्लड लाइट’ मा खेलाएको छ । एक खेल दिउँसो हुँदा अर्को खेल साँझ हुँदै आएको छ ।

विगतका दिनमा लिगमा दर्शकको अनुपस्थित हुँदा यस पटक भने पहिलो चरणमै तुलानात्मक रूपमा दर्शकको बाक्लो उपस्थिति रहेको छ । साँझका खेलमा झनै प्रतिस्पर्धा बढ्दा आगामी दिनमा झनै दर्शकको बाक्लो उपस्थिति हुने अनुमान गर्न सकिन्छ । यसपटक एन्फाले दर्शक तान्नकै लागि टिकट दरसमेत सस्ताउँदै एक सय र पाँच सय रुपैयाँ तोकेको छ ।

पहिलो चरणमा ७ खेल हुँदा १४ खेलाडीले १६ गोल गरेका छन् । एक खेलाडीले रातोकार्डको सामना गर्दा च्यासलका विदेशी खेलाडी विकास मेलाग्लियाले पेनाल्टी मिस गरे । लिगमा दुइ खेलाडीले दुई गोल गर्दा १२ खेलाडीले एक– एक गोल गरेका छन् ।

पहिलो चरणमा भएका खेल र नजिता
१‍‍, फ्रेन्ड्स क्लब ०–० सातदोबाटो युथ क्लब
२‍‍, हिमालयन शेर्पा क्लब १– १ संकटा क्लब
३, च्यासल युथ क्लब ०– ३ थ्री स्टार क्लब
४, ब्रिगेड ब्वाइज क्लब ३– २ एपीएफ फुटबल क्लब
५, जावलाखेल युथ क्लब ०– १ मनाङ मर्स्याङ्दी क्लब
६, त्रिभुवन आर्मी फुटबल क्लब १– १ नेपाल पुलिस क्लब
७, मछिन्द्र फुटबल क्लब २– १ न्युरोड टिम एनआरटी

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.