एमाले महाधिवेशन : १५ पदाधिकारीमा पुग्यो ५५ जना आकांक्षी

काठमाडौँ । नेकपा (एमाले) को १० औं महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

अध्यक्षमा केपी ओली सर्वसम्मत पुनः अध्यक्ष हुने योजनामा छन् । तर, भीम रावलले औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर अध्यक्षको उम्मेद्वारी घोषणा गरेपछि पार्टीमा छुटै तरंग पैदा भएको छ ।

उपाध्यक्ष रावलको उम्मेद्वारीसँगै ओलीको गुटरहित पार्टी बनाउने र सर्वसम्मत महाधिवेशन सक्ने योजना असफल हुने देखिएको छ ।

वर्तमान अध्यक्ष ओलीले भने अहिलेसम्म कुनै औपचारिक उम्मेद्वारी दिएका छैनन् ।

पछिल्लो समय ओली निकट मात्र होइन, १० बुँदे समझदारी गरेर आएका नेताहरु समेत ओलीको विकल्प नभएको भन्दै आएका छन् ।

अध्यक्षको उम्मेदवारी घोषणा गर्दै उनले महाधिवेशनमा प्यानल बनाउन निषेध भएकाले आफूले एक्लै उम्मेदवारी घोषणा गरेपनि अन्यले पनि उम्मेदवारी दिने दाबी गरेका छन् । तर, कसले कुन पदमा उम्मेदवारी दिन्छन् खुलेको छैन ।

उनीसँगै एमालेमा रहेकामध्ये घनश्याम भुसालमात्र ओलीको विपक्षमा देखिन्छन् । बाँकी नेताहरू सकेसम्म ओलीलाई फकाएर पार्टीको केन्द्रीय कमिटीमा अटाउने रणनीतिमा छन् ।

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावल १० बुँदे सहमति गर्नेहरु ओलीतिर लागेको स्वीकार गर्दैनन् । उनले अस्वीकार गरेपनि एमालेभित्रको राजनीतिक दृश्य उनी मैत्री देखिँदैन । सार्वजनिक रूपमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दा पनि १० जना नेताबीच छलफल हुन सकेन ।

भिम रावलको घोषणालाई आधिकारिक नमानौं, उनले पहिला संसदबाट राजीनामा दिएर फिर्ता लिनुभो, आलीको विरोध र आलोचना गर्दै हिँड्नु भो र फेरि ओलीसँगै मिल्नु भो । अहिले उहाँले अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नु भएको छ फेरि फिर्ता नलिनु होला भन्न सकिन्न । उहाँले उपाध्यक्षको पद बलियो बनाउनको लागि यो सस्तो रणनीति गर्नु भएको आशंका गर्न सकिन्छ । राजनितिक विश्लेषक डा.राजेन्द्र चापागाईको बुझाइ छ ।

असोजमा सम्पन्न एमाले विधान महाधिवेशनमा पारित विधानअनुसार अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात जना सचिव सहित १५ पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । २ सय २५ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ ।

१० औं महाधिवेशनमा एमालेलाई पदाधिकारी चयन गर्न निकै सकस पर्ने देखिन्छ । एमालेभित्र तीनवटा खेमा छर्लङग छ ।

नवौँ महाधिवेशनमा निर्वाचित आफ्नो पक्षका पदाधिकारीसँगै माओवादी छाडेका नेताहरू र १० बुँदे सम्झदारीबाट आएका माधव पक्षका नेतालाई समेत मिलाउनु पर्ने बाध्यतामा छन् ओली । तर, पदभन्दा आकाङ्क्षीको सङख्या दोब्बर हुँदा व्यवस्थापन गर्न चुनौति छ ।

वरिष्ठ उपाध्यक्षको पद १ वटा छ, तर आकाङक्षी ३ जना छन् । महासचिव ईश्वर पोखरेल, माओवादी छाडेर एमालेमा बसेका रामबहादुर थापा अनि संसदीय दलका उपनेता सुवास नेम्वाङ वरिष्ठ उपाध्यक्षको आकाङ्क्षी हुन् ।

चार उपाध्यक्षमा ६ जना आकाङ्क्षी छन् । वर्तमान उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीले सके पदोन्नति नसके सोही पदमा दोहो¥याउने आस राखेका छन् ।

नवौँ महाधिवेशनमा उपाध्यक्षमा हारेका एमाले नेताहरू लालबाबु पण्डित र किरण गुरुङ कम्तिमा यही पदमा दोहोरिने चाहना राखिरहेका छन् ।

माओवादीबाट एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझीले पनि उपाध्यक्षको दाबी गरेका छन् । रघुजी पन्त पनि उपाध्यक्षको आकाङ्क्षी हुन् ।

महासचिवको १ पदमा ४ जना आकाङ्क्षी छन् । यसअघि उपमहासचिव हारेका शङ्कर पोखरेल र उपमहासचिव विष्णु पौडेलको दाबी त्यही पदमा छ । पृथ्वी सुब्बा गुरुङले पनि महासचिव नै ताकेका छन् ।

इश्वर पोखरेलसँग नवौँ महाधिवेशनमा हारेका सुरेन्द्र पाण्डे पनि महासचिवको स्वाभाविक दावेदार मानिन्छन् । यदि महासचिव नभए उनी उपाध्यक्षमा जान सक्छन् । तर, उनको जोड महासचिवमा नै देखिन्छ ।

उपमहासचिवमा पनि संघर्ष बलियो छ । १ पदमा ४ जना आकाङक्षी छन् । वर्तमान सचिव प्रदीप ज्ञवाली उपमहासचिवको दाबेदार हुन् । वर्तमान सचिव योगेश भट्टराई पनि पार्टीमा एकताको पक्षमा रहेको भन्दै पदाधिकारीका जुनसुकै पदको लागि खुला रहेको बताएपनि उनी सकेसम्म उपमहासचिवको आकाङ्क्षी हुन् ।

वर्तमान सचिव मध्येकै गोकर्ण विष्ट र भीम आचार्य सके पदोन्नति हुने नसके पुरानै पदमा रहने मनसायमा छन् ।

सात जना सचिव छान्न सकिने व्यवस्था छ । तर, यो पदमा आकाङक्षी धेरै देखिएका छन् । सात सचिवका लागि ३० जनाभन्दा बढी आकाङ्क्षी छन् । माओवादीबाट आएका लेखराज भट्ट र मणि थापालाई व्यवस्थापन गर्न कम्तिमा सचिव पद दिनुपर्ने दवावमा छन् ओली ।

विष्णु रिमाल, शेरबहादुर तामाङ, भानुभक्त ढकाल, महेश बस्नेत, हिक्मत कार्की, किरण गुरुङ, खगराज अधिकारी, यामलाल कँडेल, कर्ण थापा, प्रभु साह, रघुवीर महासेठ, गोकुल बास्कोटा, राजेन्द्र गौतम, शेरधन राई, गुरु बराल, अरुण नेपाल, आनन्द पोखरेल र कृष्णगोपाल श्रेष्ठले पनि सचिवमा उम्मेदवारी दिने योजनामा देखिएका छन् ।

नेकपाको (एमाले) का प्रभावशाली युवा नेता मानिएका महेश बस्नेतले सचिव पदको लागि उम्मेद्वारी समेत घोषणा गरिसकेका छन् ।

खिमलाल भट्टराई, राधा ज्ञवाली र पद्मा अर्याल पनि सचिवमा आकाङक्षी छन् ।

सम्पूर्ण नेताहरुले मिलेर सर्वसम्मतिमा नै जाने घोषणा गरेपनि मिलेर जान सकिने परिस्थिति देखिएको छैन । नेपालका पार्टी र नेताहरु पद र सत्ताको लागि सिद्धान्त आचारसंहिता, विचार, आर्दश सब कुरा बदल्न सक्छन ।

बाहिर जे भनिएपनि एमालेको माधव नेपालसँगको फूटपनि पार्टी भित्रको भागबण्डा पद नमिलेर भएको हो । भन्ने मत बलियो छ ।

पूर्व एमालेमा दुई गुट मात्रै सक्रिय थियो । केपी ओली र माधव कुमार नेपालको गुट । तर, वर्तमान स्थितिमा एमालेभित्र तिन गुट रहेको प्रक्षेपण छ ।

यी तीन गुटका नेताहरुको न्यायिक व्यवस्थापन नभएमा एमालेको राजनीतिक जीवनमा गतिरोध आउन सक्ने सम्भावना पनि प्रवल छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.