एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिता

काठमाडौं । नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट दुईको महिला युगलमा स्वर्ण पदक जितेका छन् ।

सादोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे । प्रशंसा र सुनिराको जोडी सर्किट एकको पनि विजेता हुन् ।

उक्त स्पर्धाको पुरुषतर्फ नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडी च्याम्पियन बने । सक्षम र दर्शिलको जोडीले नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीलाई ६–२ र ६–२ को सिधा सेटमा हराए ।

सक्षमले पनि सर्किट एकको युगलमा स्वर्ण जितेका थिए । त्यसबेला सक्षमले नेपालकै आयुशमान हजुर घलेसँग मिलेर खेलेका थिए ।

पुरुष एकलमा नेपालका सक्षमविक्रम शाहले पाकिस्तानका अमिर मुहम्मद खान मजारीलाई ६–३ र ६–१ जित्दा नेपालकै दर्शिल श्रेष्ठले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–१ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा पुगे ।

त्यसै स्पर्धाको महिला तर्फको खेलमा नेपालकै सुनिरा थापाले आध्या पौडेललाई ६–३ र ७–५ पराजित गर्दा नेपालकी प्रशंसा मोक्तानले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–१ र ६–० को सीधा सेटमा पन्छ्याउँदै फाइनल भिडन्त पक्का गरे । एकल तर्फको फाइनल बिहीबार हुनेछ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.