काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनको सुरु हुन एक दिन मात्र बाँकी छ । यतिबेला एमालेभित्र पदकाे भागबन्डा मिलाउने सकस छ । सहमतिकाे प्रयासले यसलाई थप सकस पैदा गरेकाे छ ।
एमाले विधान महाधिवेशनमा पारित विधानअनुसार एमालेमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, एक उपमहासचिव एक र सचिव सातसहित १५ पदाधिकारी निर्वाचित हुने व्यवस्था छ ।एमालेको केन्द्रीय कमिटी २ सय २५ सदस्यीय हुने व्यवस्था विधानमा छ ।
सबैले उम्मेदवारी घोषणा भने गरेको छैनन् । घोषणा नगरेपनि १५ पदाधिकारीमा ५५ भन्दा धेरै आकांक्षी देखिएका छन् । एमालेको सचिवमा आकांक्षी धेरै छन् । आकांक्षी मध्येका युवा पुस्ताको प्रभावशाली नेताका रुपमा महेश बस्नेत र गोकुल बास्कोटा छन् ।
महेश बस्नेतले रिर्पोटस क्लबमा पत्रकार सम्मेलन गर्दै आफू सचिवको लागि योग्य रहेको दावी गरेका छन् । केपी आलीको आफूमाथि विश्वास र समर्थन रहेको दावी गर्दै उनले सचिव पदमा उम्मेद्वावरी घोषणा गरेका हुन् ।
एमालेभित्र केपी ओलीको विश्वास पात्रका रुपमा चिनिएका गोकुल बास्कोटाले अहिलेसम्म औपचारिक रुपमा कुनै उम्मेद्वावारीको घोषणा त गरेका छैनन् । तर, उनको भित्री चाहना सचिव उठ्नेमा छ ।
म सचिव हुन योग्य छु, भन्ने लाग्छ । मसँगैका अरू साथीलाई पनि स्वाभाविक रूपमा यस्त लाग्छ । त्यसो हुँदा नेताहरुको व्यवस्थापनका लागि पद थप्नुपर्ने हुन्छ । सचिवका लागि मेरो योग्यता नपुग्ने होइन । तर, त्यसका लागि पनि हामीले धेरै पक्ष हेर्नुपर्छ ।
हामीले भौगोलिक सन्तुलन मिलाउनु पर्छ । समकालीन र सिनियरहरूको स्थिति हेरेर अगाडि बढ्ने हो । म केन्द्रीय सदस्यको उम्मेदवार त बनिहाल्छु । त्योभन्दा माथि कस्तो परिस्थिति बन्छ, को–को साथीहरूले इच्छा राख्छन्, म आफूलाई कहाँ उपयुक्त देख्छु, मेरो निर्णयप्रति महाधिवेशन प्रतिनिधिहरूको कस्तो मूल्यांकन हुन सक्छ भन्ने आकलन पनि म गर्छु । त्योभन्दा बढी मैले अहिले केही सोचेको छैन । गोकुल बास्कोटा बताउँदै आएका छन् ।
महेश बस्नेत नेकपा एमालेका युवा नेता हुन् । उनले सुशील कोइरालाको मन्त्रिपरिषदमा उद्योग मन्त्रालयको जिम्मेवारी संहालेका नेता हुन् । २०६५ मा उनी युथ फोर्स नेपालका अध्यक्ष थिए । २०६७ मा उनी युवा संघको अध्यक्ष भए ।
भक्तपुर जिल्ला क्षेत्र–२ बाट उनले २०७० सालको चुनाव हारेका हुन् । उद्योग मन्त्री रहँदा भूकम्पग्रसित उद्योगलाई उनले ऋण माफी गरिदिएका थिए ।
गोकुल प्रसाद बास्कोटा ओली सरकारको सञ्चार र सूचना प्रविधि मन्त्री बनेका नेता हुन । उनी आफ्नो रुखो, छुच्चो बोली, छुद्र व्यवहार, घुसकाण्डका कारण चर्चामा आएका पात्र हुन् ।
उनलाई तत्कालीन समयमा प्रधानमन्त्रीको विश्वासपात्र मानिन्थ्यो । केपी ओलीले पनि उनको प्रशंसा र बचाउ गर्दै आएका छन् । काभ्रेपलाञ्चोक–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यको रूपमा निर्वाचित नेता हुन् ।
बास्कोटा र बस्नेत दुवै ओलीका प्रिय छन् । पार्टीभित्रको स्थिति हेर्दा वडा तहको अधिवेशनमा आफू निकटस्थहरुलाई बढीभन्दा बढी चयन गराउन सफल देखिएका बस्नेतको भातृ संगठनहरुमा पनि पकड बलियो छ ।
अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र बस्नेतले कठिन घडीमा जोखिम उठाएर साथ दिदै आएका छन् । त्यसकारण पनि ओलीले उनलाई पदाधिकारीमा बढाउने सम्भावना छ । तर, उनीभन्दा सिनियर नेताहरुको व्यवस्थापनको चुनौति भएकाले यही हुन्छ, भन्न सक्ने स्थिति छैन ।
ओलीका विश्वास पात्रमा गोकुल बाँस्कोटा पनि कम छैनन् । उनलाई ओलीले पदाधिकारीमा बढाउने सम्भावना छ । ओलीको बचाऊमा सबैभन्दा बढी बोल्ने गरेका बाँस्कोटाको बस्नेतको तुलनामा संगठनमा पकड भने केही कमजोर छ ।
बागमती प्रदेशका भएकाले दुईमध्ये एकलाई मात्र पदाधिकारीमा बढाउने सम्भावना पनि छ । बाँस्कोटालाई एमाले प्रवक्ता बनाएर व्यवस्थापन गर्ने सम्भावना पनि हुनसक्ने बुझिएको छ ।
दुवै नेता एमालेको सचिव पदको लागि योग्य छन् । यदि कमरेडहरु गर्नु हुन्छ भनेपनि स्वीकार्नु पर्छ, पार्टीभित्र दुवैको बराबर पहँुच छ । यही नै ठूलो, योग्य भन्ने स्थिति नरहेको ओली निकट एक नेता बताउँछन् ।
सबैले आफ्नो सम्भावना देखेर नै आफ्नो योग्यता हेरेर नै उम्मेद्वारीको दावी गर्नेे हो । तर, मुख्य कुरा प्रतिनिधिले कति विश्वास गर्छन् भन्ने हो ।
उम्मेद्वारीलाई सम्मानजनक रुपमा हेर्नुपर्छ । तर, यसपालिको महाधिवेशन सर्वसम्मत नै हुन्छ भन्ने मलाई लाग्छ । निर्वाचन नै भयो भने पनि राम्रो मध्येको राम्रो चुनिनु हुनेछ । हामी पार्टी एकताको पक्षमा छौँ । गुटगत रुपमा हैन । विद्यार्थी नेता ऐन महर बताउँछन् ।