काठमाडौं । आइतबार दिनभर सहमतिका लागि भएको प्रयसको नतिजास्वरुप अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति १२ बजेपछि बन्दसत्र हलमा पदाधिकारीको नामावली पढेर सुनाए ।
अध्यक्षमा आफ्नै नाम पढेका उनले क्रमश: वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, ६ जना उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्षी शाक्य, सुरेन्द्र पाण्डे रामबहादुर थापा बादल र विष्णु पौडेल,महासचिवमा शंकर पोखरेल महासचिवमा शंकर पोखरेल रहेको उल्लेख गरे ।
त्यसैगरी,उनले तीन उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम पढेर सुनाए । सात जना सचिवमा ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्यालको नाम प्रस्ताव गरेका छन् ।
यसरी पदाधिकारीको नाम सार्वजनिक गरे पनि ओलीले यसैलाई मन्न भनेर रुलिङ गरेनन् । बरु उनले प्रस्तावित नेताहरुलाई मनोनयन दर्ताका लागि आग्रह गरेका छन् ।
‘यसरी १९ जना पदाधिकारीहरुमा सहमति जनाउनका निम्ति म कमरेडहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु’ ओलीले भनेका थिए, ‘पदाधिकारीमा यी नामअनुसार नै साथीहरुले मनोनयन दर्ता गर्न पनि आग्रह गर्न चाहन्छु । अब कमरेडहरु निर्वाचन आयोगको नजिकै कार्यालयमा मनोनयन दर्ता गर्न, प्रस्तुत गर्नका लागि म आग्रह गर्न चाहन्छु । आजको यो सेसन यहीँ समाप्त हुन्छ ।’
ओलीले आफूलाई अध्यक्षका रुपमा घोषणा गर्दा हलमा ताली गुञ्जिएको थियो ।तर, उनलाई भीम रावलले अध्यक्ष पदमा चुनौती दिएका छन् । उनीविरुद्ध रावलले उम्मेदवारी दर्ता गराउने घोषणा गरिसकेका छन् । र, सोहीअनुरुप भोट पनि माग्न सुरु गरेका छन् ।