रवीन्द्र काफ्ले
पाँचथर । पाँचथरमा नेकपा (एमाले)बाट निर्वाचित ११ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् ।
जिल्ला समन्वय समितिका सदस्य सन्तोष सिन्चेउरीसहित फालेलुङ गाउँ कार्यपालिका सदस्य रेणुका आङ्बो, कुम्मायक गाउँ कार्यपालिका सदस्य भक्तबहादुर विश्वकर्मा, कुम्मायक-२ का वडाध्यक्ष बालकृष्ण शेर्मा, फालेलुङ–१ का वडाध्यक्ष श्रीप्रसाद जबेगूले एकीकृत समाजवादीमा सनाखत गराएका हुन् । जिल्ला समन्वय समितिका सदस्य सिन्चेउरीकाअनुसार सनाखत गर्ने अन्य जनप्रतिनिधि वडा सदस्यहरु छन् ।
जसमा फालेलुङ–१ का वडा सदस्यहरु तारा विश्वकर्मा र यमुना भण्डारी, फिदिम नगरपालिका–१२ का वडा सदस्यहरु नन्दिकेशर आचार्य र सर्मिला नेपाली, याङवरक गाउँपालिका–५ वडा सदस्य दुर्गाप्रसाद योङहाङ र हिलिहाङ गाउँपालिका–५ वडा सदस्य राजकुमार पन्थाक छन् । उनीहरुले जिल्ला निर्वाचन कार्यालयमा पुगी सनाखत गरेको जिल्ला समन्वय समितिका सदस्य सिन्चेउरीले जानकारी दिए । निर्वाचन कार्यालयले भने सनाखत भएका जनप्रतिनिधिबारे विवरण सार्वजनिक गर्न नमिल्ने बताएको छ ।
पाँचथरमा एमालेबाट जिल्ला समन्वय समितिका प्रमुख र ६ जना सदस्य, चारवटा गाउँपालिकामा अध्यक्ष र पाँच वटा गाउँपालिकामा उपाध्यक्ष तथा २९ वडामा वडाध्यक्ष छन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष भने सबै एमालेमै रहेका छन् । एमालेबाट एक/जना प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य निर्वाचित भएको जिल्लामा प्रदेशसभा सदस्य गणेशकुमार काम्बाङ एकीकृत समाजवादीमा खुलेका छन् ।
मंगलबार एमालेको सचिवालय बैठक बसेको छ । उक्त बैठकमा २२ जना सचिवालय सदस्यहरु मध्ये १८ जना सहभागी भएको एमालेका केन्द्रीय सदस्य एवं पाँचथर सह-इन्चार्ज अइन्द्रसुन्दर नेम्वाङले जानकारी दिए ।