चितवन । वरिष्ठ उपाध्यक्षका लागि निवर्तमान महासचिव ईश्वर पोखरेल र संसदीय दलका सुवास नेम्वाङ दावेदार थिए । ओली पछिको नेता बन्ने होडमा पोखरेल र नेम्वाङको दूरी निकै बढेको थियो । पोखरेलले वकिलले पार्टी चलाउँछ र ? भनेर आफ्नो अपमान गरेको भन्दै नेम्वाङले चुनाव लड्न चुनौति मात्र दिएनन्, ओलीलाई तपाईंबाहेक अरुलाई नेता नमान्ने सन्देश पठाएका थिए ।
तर पदाधिकारीमध्ये त्यही वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा निर्विरोध भएको छ । ओलीले सोमबार मध्यारातमा बन्दसत्रमा पेश गरेको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको मात्र उम्मेदवारी परेको छ ।
वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पार्टीको आदेश र महाधिवेशनको म्याण्डेटलाई ध्यानमा राखेर उपाध्यक्षमा उम्मेदवारी दिएको नेम्वाङले बताएका छन् । उनले भने ,‘वरिष्ठमा दाबी गरेको होइन । सबैले उठ भनिरहेका छन्, त्यसैले चुनावमा उठ्नुपर्यो भने वरिष्ठ उपाध्यक्षमा उठ्छु भनेको थिएँ । तर त्यतिबेला नै मैले भनेको थिएँ, यो पार्टीका लागि यतिबेला सर्वसम्मत नेतृत्व चयन अनिवार्य छ ।’
मलाई लागेको कुरा अध्यक्षलाई भनेको छु, तर पार्टीको आदेश र महाधिवेशनको म्याण्डेटलाई ध्यानमा राखेर उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।’ उनले थपे ।