कोदोको लोकल रक्सीमा पूर्वमन्त्रीको चासो
राईले लोकल रक्सीका लागि पर्याप्त कोदो आवश्यक पर्ने भएकाले कोदो खेतीले व्यापकता पाउने दाबी पनि गरिन् ।

खोटाङ । प्रदेश १ की पूर्व सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको लोकल रक्सीको बजारीकरण र ‌‍औद्योगीकरणले आर्थिक समृद्धिको मूलढोका खुल्ने बताएकी छिन्।

बुधबार दिक्तेलमा आयोजित एक कार्यक्रममा राईले नेपाली पहिचान र राष्ट्रियता बोकेको कोदोको लोकल रक्सीलाई औद्योगीकरण र बजारीकरण गर्न सके आर्थिक समृद्धि हुने बताएकी हुन् । ‘हाम्रो देशमा कोदोको लोकल रक्सी, गाँजा, रक्तचन्दन जस्ता ब्राण्डिङ गर्नुपर्ने चिज धेरै छन् । त्यसमध्ये लोकल रक्सीबाट ब्राण्डिङ सुरु गर्ने प्रयास सुरु भएको छ’, राईले भनिन्, ‘कोदोको रक्सीलाई ‘व्यान्ड होइन ब्राण्ड’ बनाउनुपर्ने अभियान बहुआयामिक छ । यसका कारण कृषि र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्छ । विदेसिएका युवालाई गाउँमै फर्काउन सकिन्छ । यसलाई जुनसुकै सरकारले पनि निरन्तरता दिन आवश्यक छ ।’

राईले लोकल रक्सीका लागि पर्याप्त कोदो आवश्यक पर्ने भएकाले कोदो खेतीले व्यापकता पाउने दाबी पनि गरिन् ।

‘व्यान्ड भर्सेस ब्राण्ड’ अवधारणाले हरेक रक्सी उत्पादक स्थानीयलाई आर्थिक रूपमा स्वरोजगार बनाउने तथा हाल बाँझिएका, नांगो भएका डाँडाकाँडालाई कोदोको खेतीले ढाक्ने राईको भनाइ थियो । ‘व्यान्ड भर्सेस ब्राण्ड’ अभियानको सफलताका लागि ७० पृष्ठको सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिवेदन तयार पारिसकिएको तथा आवश्यक कानुन निर्माणका लागि चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन भइसकेको राईले जानकारी दिएकी छन् ।

राईले वर्ष दिनअघिदेखि लोकल रक्सीमाथिको प्रतिबन्ध (व्यान्ड) फुकुवा गरेर ब्राण्ड बनाउनुपर्ने अवधारणा अघि सारेकी हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.