किन महत्व छ, एमाले अध्यक्ष पदको मत परिणाम ? 

तीन दिनमा पूरा गर्ने भनी सुरु भएको नेकपा एमालेको महाधिवेशन आज पाँचौँ दिनसम्म पनि जारी छ । निवर्तमान अध्यक्ष ओलीले सहमतिबाटै नेतृत्व र पदाधिकारी टुंग्याउन खोज्दा सो हुन नसकी निर्वाचन हुँदा महाधिवेशनको समय लम्बिएको हो । 

निवर्तमान अध्यक्ष तथा महाधिवेशनपछि पनि अध्यक्षका रुपमा हेरिएका ओलीले सहमतिमा जोड दिइरहँदा अध्यक्ष पदमा दाबी गरिरहेका भीम रावल भने ओलीलाई चुनावमा जान दबाब दिइरहेका थिए ।

अन्तत:ओलीले सहमतिमा सबै नेतृत्व टुंग्याउन नसक्दा निर्वाचन भएको छ । यतिखेर अध्यक्ष पदका दाबेदार ओली र रावलको मतगणना भइरहेको छ। यो सामग्री तयार पार्दासम्म फराकिलो मतअन्तर ओलीले अग्रता लिएका छन् । मत परिणामले ओली पुन: अध्यक्ष बन्ने देखाए पनि रावलका लागि प्रतिष्ठाको विषय बनेको छ । 

पुस ५ मा तत्कालीन अवस्थामामा प्रधानमन्त्री रहेका केपी ओलीद्वारा गरेको संसद विघटनविरुद्ध माधवको साथमा रहेर खरो रुपमा विरोध उत्रिएका रावल अन्तत: दशबुँदे गर्दै एमालेमै रहेका थिए। एमालेमै रहेका कारण रावलमाथि आफ्नो व्यवस्थापन गरेर एमालेमा नै बसेको आरोप लागेको थियो ।

यद्यपि महाधिवेशनका क्रममा ओलीले रावललाई त व्यवस्थापन गरेनन् । बरु रावलले उल्टै ओलीसँग प्रतिस्पर्धा गरेर चुनौती दिए । 

महाधिवेशनमा रावलले अध्यक्ष पदमा दिएको उम्मेदवारीलाई कतिपयले माधव नेपालको प्रतिनिधित्वका रुपमा हेरेका छन्। ओलीविरुद्ध आउने मतले एमालेमा ओलीका आलोचक र नेपाल समूहको अवशेष कति भन्ने कुरा देखाउने भएकाले पनि रावलको मतलाई निकै महत्वका साथ हेरिएको छ । 

चितवनमा एमालेको महाधिवेशन जारी भइरहँदा ओलीले गरेको सहमतिको प्रयासलाई लिएर सोमबार एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफू नेकपा एमालेबाट बाहिरिएर सही भएको बताए थिए ।

त्यसैगरी, रावलले पनि मंगलबार बिहानबाट भएको मतदानलाई लिएर खुसी हुँदै आफ्नो एजेन्डा  र माग पूरा भएको बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.