अर्थपूर्ण ओलीको प्रतिमा

काठमाडौं । नेकपा (एमाले) को १० औँ महाधिवेशन ५ दिन चलेर मंगलबार सम्पन्न भएको छ । यो महाधिवेशनबाट एमाले अध्यक्षमा केपी ओली विजयी भएका छन् ।

सर्वसहमतिमा नै अध्यक्ष पद ओलीलाई दिने निर्णय पार्टीको थियो । तर, भिम रावलले अध्यक्ष पदमा दाबी गरेपछि ओली र रावल चुनावी मैदानमा उत्रिएका हुन् । जित ओलीकै हुने निश्चित भइसके पनि रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिएका हुन् ।

ओली र रावलबीचको मतान्तरलाई हेर्ने हो, भने पनि पार्टीमा ओलीको लोकप्रियता कति छ, भन्ने कुरा सजिलै आंकलन गर्न सकिन्छ ।

कूल २१ सय ५३ मतमध्ये ओलीले १८ सय ८ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धामा उत्रिएका रावलको पक्षमा भने जम्मा १ सय २३ मत खसेको छ । पार्टीभित्र ओलीको कुन स्थान छ भन्नेबारे यही मतबाट बुझ्न सकिन्छ ।

ओलीले यो मत पाउनका लागि कुनै पर्चा पम्प प्लेटको होडबाजी गरेका थिएनन् । यस्तो गर्नु निर्वाचन आचार संहिता विपरीतको कार्य थियो । यसकारण पनि भिम रावलको पर्चा खोसिएको हुन सक्छ । यति हुँदा हुँदै पनि ओलीको वर्चस्व कायम हुनु भनेको पार्टीले ओलीलाई विशेष स्थान दिएको भन्दा केही फरक पर्ने छैन ।

पर्चा र पम्प प्लेटमा जोड नदिएका ओलीले महाधिवेशन स्थलमा आफ्नो तस्बिर समेत राखेका थिएनन् । महाधिवेशन स्थलमा कम्युनिष्ट नेता माक्र्स, लेनिन, स्टालिन, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको प्रतिमा सजिएको थियो । कम्युनिष्ट विचारधारा बोकेका एमाले नेता र कार्यकर्ताका लागि त्यो प्रतिमा विशेष नहुने कुरै भएन ।

महाधिवेशनको चाँैथो दिनको मध्य रातमा भने तीनै लस्करै उभिएका कम्युनिष्ट नेताको छेउमा ओलीको प्रतिमा थपियो ।

यसैगरी नेपाली कांग्रेसमा पनि मातृका प्रसाद कोइरालादेखि सुशिल कोइरालासम्मको तस्वीर पार्टीका कार्यक्रमहरुमा प्रयोग हुने गरेको देखिन्छ । कम्युनिष्ट पार्टीमा पनि माक्र्सदेखि माओसँगका तस्वीर प्रयोग गर्ने गरिएको देखिन्छ ।

यसरी प्रयोग हुने तस्वीरको अर्थ पार्टी उनीहरुको विचारधारा मान्दछन् भन्ने हुन्छ । नेपालका कम्युनिष्ट पार्टीहरुमा माओको तस्वीर राख्ने नराख्ने प्रचलन पाइएको छ । धेरैले माओवाद नभएर विचारधारा मात्र हो भन्ने गरेका पनि छन् ।

यसै पनि ओलीको लोकप्रियता बढेको पार्टीभित्र ओलीको प्रतिमाले धेरै कुराको संकेत गरेको देखिन्छ । चुनावी मैदानमा होमिन तयार भएका रावल पक्षलाई कमजोर बनाउने रणनीतिको रुपमा पनि यसलाई हेर्न सकिन्छ ।

सोमबार मध्यरातमा ओलीको प्रतिमा थपिनु र मंगलबार विहान ४ बजे (केही घण्टाको अन्तर) मतदान प्रक्रिया सुचारु हुनुमा ओलीकै नेतृत्व कायम छ, भन्ने संकेत देखिन्छ ।

ओलीले नेतृत्व लिनुअघि ढुलमुल अवस्थामा मदन भण्डारीको पदचाप पछ्याइरहेको थियो एमाले पार्टीले । त्यसो त एमालेमा मदन भण्डारीको नेतृत्व रहँदा पार्टीभन्दा लोकप्रिय मदन भण्डारी थिए ।

उनका विचारलाई अनुसरण गर्दै पार्टी अघि बढाउँदै आएका थिए एमाले नेताहरु । ओलीको अध्यक्ष भएको समय उनले लिएका केही राष्ट्रप्रेमी निर्णयका कारण एमाले पार्टी बलियो भएर उभिएको देखिन्छ ।

२०७२ मा आएको विनाशकारी भूकम्पले दिएको पीडामा पिल्सिरहेका जनतामाथि भारतले लगाएकोे नाका बन्दीमाथि खरो बनेर उत्रिएका थिए ओली । यही कारण उनको राष्ट्रवादी छवि बन्न गयो ।

उनी प्रधानमन्त्री हुँद चीनसँग यातायात तथा पारवहन सन्धि गरेर ओलीले नेपालको भूपरिवेष्ठित अवस्थालाई केही सहज बनाउने प्रयास गरेका थिए । यसका साथै भारतले आफ्नो सीमाभित्र कैद गरेको नेपालको लिम्पियाधुरा क्षेत्रलाई फिर्ता ल्याउन पनि उनले पहलकदमी गरेका थिए ।

‘बा’ को उपनामले देशभर चर्चा पाएका ओली आफ्नो कार्यकर्तामाझ लोकप्रिय छन् । उनको लोकप्रियता महाधिवेशन स्थलमा उर्लिएका उनका समर्थकको संख्याले नै देखाएको छ ।

यसैको आधारमा उनको प्रतिमा कम्युनिष्ट नेताको प्रतिमा छेउमा उभिएको हुन सक्छ । उनको यो प्रतिमा उभ्याइले एमाले पार्टीमा आफ्नो वर्चस्व कायम रहेको अघोषित संकेत देखिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.