दर्ता गराए थापा र लिङ्देनले उम्मेदवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । तीन दल मिली तीन अध्यक्ष प्रणाली अपनाएको राप्रपाले एक अध्यक्ष चयनका लागि थापा र लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन् । 

शुक्रबार अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका दुवै उम्मेदवार यसअघि थापा प्यानलका हुन् । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा थापा र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन् । थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्कीले उम्मेदवारी दिएका छन् । त्यस्तै महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै लिङ्देन पक्षबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिएका छन् । लिङ्देन पक्षबाट महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाले उम्मेदवारी दिएका छन् ।

१९९ सदस्यीय केन्द्रीय समितिका १४९ जना राप्रपाले निर्वाचनबाट चयन गर्नेछ । जसमा अध्यक्षसहित ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । मंसिर १५ गते सुरु भएको अधिवेशनमा शनिबार मतदान हुने कार्यक्रम छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.