सन्दर्भ राप्रपा महाधिवेशन : किन महिलाले महिलाकै चरित्रमाथि उठाउँछन् प्रश्न ?

काठमाडौं । राप्रपाकी नेतृ तथा सोही पार्टीको महामन्त्री पदमा प्रतिस्पर्धामा उत्रिएकी रेखा थापाले कुन्ति शाहीलाई फिल्म खेल्न प्रस्ताव गरेकी छन् ।

सोही पदमा प्रतिस्पर्धामा उत्रिएकी कुन्ति शाहीबाट रेखा थापालाई लक्षित गरी फिल्म खेल्नजस्तो राजनीति गर्न सजिलो नभएको अभिव्यक्ति दिएसँगै सोको जवाफस्वरुप थापाले शाहीलाई फिल्म खेल्न प्रस्ताव गरेकी हुन् ।

शनिबार रेखाले वैशाखमा आफूले फिल्म बनाउने जानकारी दिँदै शाहीलाई हिरोइनको भूमिकामा नभई आमाको भूमिका लागि प्रस्ताव गरिन् ।

उनले भनेकी छन्, ‘म वैशाखमा फिल्म बनाउँदै छु। अब उहाँलाई हिरोइनको रोल दिन त सक्दिनँ। आमा या आन्टीको रोल गर्ने भए आए हुन्छ ।’

शुक्रबार शाहीले रेखालाई लक्षित गरी राजनीति भनेको फिल्म खेलेजस्तो सजिलो नभएको बताउँदै रेखालाई राजनीति नै थाहा नभएको आरोप लगाएकी थिइन् ।

त्यसैगरी, थापाले कुन्तिमाथि नेता रिझाएर दुईपटक सांसद र मन्त्री बनेको आरोप लगाउँदै पार्टीमा प्रियतमवाद र प्रियआशिर्वाद अन्त्य हुनुपर्ने बताइन् ।

आफू २० वर्षदेखि महिला सशक्तीकरण, महिला र छाउपडी प्रथाविरुद्ध अभियान लागिपरेका बेला कुन्ती नेता रिझाउन व्यस्त रहेको आरोप लगाइन् ।

‘उनको चरित्र एकजना नेतालाई रिझाएर पद लिने देखियो । म किस्तामा राखेको पद लिने हैन,’ उनले भनेकी छन् ।
रेखाले शाहीमाथि यो आरोप लगाइरहँदा उनले कतै आफ्नो विगत त बिर्सिनन् भनी धेरथोर आलोचना सुनिन थालेको छ ।

प्रतिस्पर्धाका क्रममा शाहीले थापालाई फिल्म खेल्नजस्तो राजनीति गर्न सजिलो छैन भनी दिएको सुझावलाई सामान्य मान्न सकिन्छ । तर, सो अभिव्यक्तिको प्रतिवादस्वरुप थापाबाट कुन्तिमाथि नेता रिझाएर, सांसद र मन्त्री बनेको, पार्टीमा प्रियतमवाद र प्रियआशिर्वाद रहेको आरोप लगाउनु र नेतालाई रिझाएर पद लिएको आरोप लगाउनुले किन एक महिलाले अर्को महिलामाथि चरित्रको प्रश्न उठाउँछन् भन्ने प्रश्न उठेको छ ?

© 2021 Quicknepal.com  |  All Rights Reserved.