एनआरटीको लगातार दोस्रो बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेलमा न्युरोड टिम एनआरटी र च्यासल यूथ क्लबले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न शनिबारको दोस्रो खेलमा च्यासल र एनआरटीले १(१ )गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

च्यासलले पहिलो हाफमा एक गोल गर्दा एनआरटीले दोस्रो हाफमा बराबरी गोल गरेको थियो ।

खेलको ४३औं मिनेटमा रुमेश बर्तौलाले गरेको गोलबाट च्यासलले अग्रता लिएको थियो । एनआरटीका मेसुके ओलोउमोउको हेड रिबान्डमा अनमार्क रहेका रुमेशले आकर्षक गोल गरे ।

७९औं मिनेटमा वैकल्पिक दीपेश घलेले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए । एनआरटीका नवीन गुरुङको क्रस च्यासलका राजीव लोप्चाङबाट डिफ्लेक्ट हुँदा दीपेशले बक्सभित्रबाट सहजै गोल गरे ।

खेलको म्यान अफ दी म्याच च्यासलका कविराज महर्जन भए ।

बराबरीसँगै च्यासलले तीन खेलबाट चार अंक जोडेको छ । पहिलो खेलमा थ्री स्टारसँग ३–० ले पराजित भएको च्यासलले दोस्रो खेलमा एपीएफलाई १–० ले पराजित गरेका थियो ।

यता एनआरटीको भने यो दोस्रो बराबरी हो । पहिलो खेलमा मछिन्द्र क्लबसँग २–१ ले पराजित भएको एनआरटी दोस्रो खेलमा ब्रिगेड ब्वाइजसँग बराबरीमा रोकिएको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.