काठमाडौं । राप्रपाको महाधिवेशनबाट अध्यक्ष पदमा राजेन्द्र लिङ्देनको विजयसँगै नेतृत्वको रुपमा राप्रपाले युवा पुस्ता पाएको छ।
अध्यक्षको रेसबाटलोकेन्द्रबहादुर चन्द निवर्तमान अध्यक्षहरू पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी बाहिरिएसँगै राप्रपा अध्यक्ष पदमा लिङ्देनले अवसर पाएका हुन् ।
अध्यक्षमा चयन भएसँगै लिङ्देनले आजबाट राप्रपामा गुटउपगटको अन्त्य भएको घोषणा गरे ।
तर, सोही पदमा लिङ्देनसँग हार व्यहोरेपछि कमल थापाले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्रले खेलेको आरोप लगाए ।
यसअघि राजदरबारले कमल थापामाथि राजतन्त्र स्थापनाको एजेण्डालाई राम्ररी बोकेर नहिँडेको गणतन्त्रवादी दलहरूसँग मिलेर पटक–पटक सत्ताको भोगको परिस्थितिअनुसार आफूकेन्द्रित अवसर छोप्न थापा माहिर भएको आरोप लगाउँदै आएको थियो ।
वर्तमान परिस्थिति आमनागरिकको संघीयता, धर्मनिरपेक्षताप्रति केही असन्तुष्टि बढ्दै गइरहेको छ । गणतन्त्रवादी राजनीतिक शक्तिहरूका आन्तरिक गतिविधि र सत्ताको छिनाझपटीका कारण २०६५ को तुलनामा राजप्रति सहिष्णुता राख्नेहरुको संख्या बढ्दै गइरहेको छ ।
त्यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानी शाहको नाममा खोलेको ट्रस्टमार्फत् धार्मिक र सामाजिक कार्यमा जोडिएर शक्ति आर्जन गरिरहेका छन् ।
यही शक्तिलाई पार्टीमा रुपान्तरण गरेर राजा परिवार पुन: शक्तिमा आउन चाहेको, तर थापाले सो कार्यलाई प्रश्रयता नदिँदा दरबार र थापाबीच दरार उत्पन्न भएको कतिपयको विश्लेषण छ । सम्भवत: यही दरारका कारण दरबारले लिङ्देनलाई ल्याएको आँकलन गरिएको छ ।
तर, राप्रपा पदाधिकारी, र केन्द्रीय सदस्यमा थापाको समूहको बाहुल्यता छ । त्यसमा पनि लिङ्देन थापाद्वारा प्रशिक्षित व्यक्ति हुन् । लिङ्देन अध्यक्ष भए पनि केही न केही व्यक्तित्वको प्रभाव पर्छ । जसका कारण एकल अध्यक्षले मात्रै दरबारको इच्छा पूरा गर्न त्यति सहज देखिँदैन ।
राप्रपामा लिङ्देनको विजयलाई नेतृत्व र सत्ताका लागि मरिहत्ते गरिरहने प्रवृत्तिको हारको रुपमा हेरिएको छ ।