काठमाडौं । तारागाउँ म्युजियमको मूल गेटबाट केही खुड्किला चढ्नेबित्तिकै भित्ता फुलबुट्टा भरिएको देखिन्छ । यी तस्वीर निर्जिव भएर सधैँ मुस्कुराइरहेका हुन्छन् ।
विकास केन्द्र संस्थाबाट मध्यतराई जनकपुर क्षेत्रमा प्रचलित मिथिला कला कोर्न काठमाडौं आएका उनीहरुले कोरेको चित्र चित्रकारले लगाएको सारीझै रंगीचंगी छ ।
काठमाडौं ट्रिएनाद्वारा कला, संस्कृति र परम्पराबारे खोज र सोसँग सम्बन्धित विषयवस्तुलाई यो संस्थाले चित्रकलाको माध्यमबाट प्रस्तुत गर्दै आएको छ ।
धोती सारीमा सजिएर कोरेका चित्रको माध्यमबाट यी चार कलाकारको जीविकोपार्जन चल्दै आएको छ । चित्र कोरेर सुधिरा कर्णले छोरालाई शिक्ष दिइरहेकी छन् । उनी एकल महिला हुन् ।
त्यसैगरी, मधुमाला मण्डलले बिरामी छोराको उपचार गराइरहेकी छिन् भने रेवती मण्डलले घरखर्च चलाइरहेकी छिन् ।
तराई क्षेत्रको परम्परामा महिला जातिले आफ्नो मुख छोपेर बस्नुपर्ने हुन्छ । तर, उनीहरु आफ्नो शिरबाट घुँघट हटाएर मिथिला चित्र कोरिरहेका छन् ।
तराईमा महिलाले मुख छोप्नुपर्ने प्रथा अहिले पनि प्रचलनमा छ । त्यसमाथि पनि महिला । थोरै संघर्षले उठेन, त्यो घुँघट शिरबाट उघ्रिएन ।
औपचारिक शिक्षाबाट वञ्चित यिनीहरुलाई समाजको पढाइ अनि मिथिलाको सिकाइले मास्टर आर्टिस्टको दर्जा दिलाएको छ । यी चारमध्ये चारै जनाले आफ्नो कला नेपालमा मात्र नभएर विदेशमा पनि प्रदर्शन गरेका छन् ।
मञ्जुलाले गरेको संघर्षको त्यो ३० वर्ष
जनकपुर नारी विकास केन्द्रकी संस्थापक अध्यक्षसमेत रहेकी मञ्जुला ठाकुर यो पेसामा लागेको ३० वर्षभन्दा बढी भयो । यो अवधिमा उनले धेरै संघर्ष गरिन् । जुन संघर्ष घुँघटभित्र आफ्नो संसार हेर्नुपर्ने जोकोही महिलाका लागि सहज थिएन ।
उनकै भाषामा उनको कला सर्वप्रथम विदेशीले रुचाएका थिए । पञ्चायत सकिनुभन्दा केही वर्षअघि उनको घर पुगेका एक विदेशी नागरिकले उनलाई कागजमा मिथिला चित्र कोर्न लगाएका थिए । सोबापत् उनले केही रुपियाँ प्राप्त गरिन् । योसँगै उनी मिथिला कोर्नका लागि विभिन्न जिल्ला, राजधानी काठमाडौंलगायत स्थानमा हिँड्न थालिन् ।
उनी परपुरुषसँग काम गर्न हिँडेको भन्दै उनका श्रीमान् उनीसँग तीन महिनासम्म नबोलेको अझै याद छ उनलाई । त्यति मात्र नभएर उनलाई जन्म दिने आमा उनीसँग ६ वर्षसम्म बोलिनन् । तर, उनले हार मानिन् । ससुराको आडभरोसाका कारण उनले आम्दानी मात्र नभएर श्रीमानको मन जितिन् । उनले अमेरिका, अष्ट्रेलियालगायत देशमा मिथिला कला प्रस्तुत गरेकी छन् ।
उनको यो कामलाई गाउँ समाजले भने सहजै स्वीकार गर्न नसकेको सम्झना छ उनलाई । संस्थाको स्थापनापश्चात् मिथिला चित्र कोर्न, संस्थामा आबद्ध हुन र सोको महत्व बुझ्न जाँदा घरबाट भएको गालीगलौज अझै याद छ उनलाई । तर, पनि पछि हटिनन् ।
अथक प्रयासका कारण संस्था चलिरहेको छ । हाल उनको संस्थाले एकल महिला, अपाङ्गलाई प्राथमिकताका साथ काम दिँदै आइरहेको छ ।
तर, उनलाई बेलाबेला आर्थिक अभावका कारण संस्था बन्द हुने आशंका र नयाँ पुस्तालाई मिथिला चित्रकला हस्तान्तरण गर्न नसक्ने पो हुँ कि भन्ने चिन्ताले सताइरहन्छ ।
एकल आमा सुधिराको सहारा मिथिला कला
सुधिरा कर्णका श्रीमान्ले संसार छोडेर जाँदा उनको काखमा आठ महिनाको छोरो थियो । श्रीमान् नभएपछि उनी छोरो च्यापेर माइत बसिन् । सोही समय जनकपुर नारी विकास केन्द्रमा मिथिला कोर्न कर्मचारी आवश्यकको विज्ञापन भेटिन् । उनले दर्खास्त दिइन् । सजिलै छानिइन् । आम्दानी हुन थाल्यो । छोराका लागि चाहिने पढाइ खर्च आफैँले जुटाउन थालिन् । अहिले उनको छोरो स्तातकोतरको अध्ययन सकाएर जागिर गर्छन् । तर, सुधिरा अझै मिथिलाकलामै रमाइरहेकी छिन् ।
मधुमाला मण्डलको पनि उस्तै छ कथा
तारागाउँ म्युजियमको भित्तामा बनेको चित्रको मुख्य डिजाइनर हुन मधुमाला मण्डल । उनी महिला शसक्तीकरणको विषयलाई झल्काउने मिथिला कला कोर्छिन् । उनको कलामा महिलाले मोटरसाइकल, अटो, डोजर गाडी इत्यादि चलाएको रोचक आकृति देख्न सकिन्छ । उनको सोचमा महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् । त्यसैले उनलाई यस्ता चित्र कोर्न खुब मन पर्छ ।
उनको इच्छासँगै बाध्यता बनेको छ मिथिला चित्रकला । यही कामबाट आर्जेको आम्दानीबाट बिरामी छोराको उपचार अनि घर खर्चको जोहो गर्नुछ उनलाई । संस्था बन्द भइदियो भने छोरालाई औषधि कसरी खुवाउने भन्ने पीर लाग्छ उनलाई ।
धेरै बिक्ने चित्र कोर्छिन् रेवती मण्डल
केन्द्रमा कोरिनेमध्ये धेरैजसो चित्र रेवती मण्डलको बिक्छ । उनको कला कौशल र चित्रमा समावेश भएका गहन विषयवस्तुका कारण उनको कलाले विशेष प्राथमिकता पाउने गरेको हो ।
उनको संघर्ष पनि अन्य महिलाको जस्तै छ । घर परिवार धान्न घरबाहिर जाँदै गर्दा उनले पनि थुप्रै समस्या व्योहोरेकी छिन् । परिवारको असन्तुष्टि, शिरबाट उघ्रेको उनको घुँघटको आलोचनालगायत समस्या उनका अगाडि नआएका होइनन् । काममा हिँड्दा बाहिर जति सजिलोसँग घुँघट उघारिन्छ घरभित्र प्रवेश गर्दा त्यसरी नै शिरमा पहिर्याउनुपर्ने उनीलगायत सबैको अझै बाध्यता छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चल्दै गर्दा तारागाउँमा देखिएको यो दृश्यले साँच्चै नै नेपाली महिला सचेत भएको आँकलन गर्न सकिन्छ । पुरुषको वर्चस्व भएको समाजमा महिलाले पनि बाहिर काम गरेर परिवार पाल्न सक्छन् भन्ने ज्वलन्त उदाहरण बनेका छन् यी चार मिथिलाकलाका ‘मास्टर आर्टिस्ट’ हरु ।