भरतको गोलमा आर्मीको पहिलो जित

काठमाडौं । कप्तान भरत खवासको निर्णायक गोलमा त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ ।

त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १–० अन्तरले पराजित गर्दै पहिलो तीन अंक जोडेको हो ।

आर्मीका भरत खवासले ८४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । भरतले सन्तोष तामाङले बक्सबाहिरबाट दिएको बललाई पेनाल्टी क्षेत्रबाट गोल गरेका थिए ।

जितसँगै तीन खेलबाट पाँच अंक जोडेको आर्मी तालिकाको चौथो स्थानमा उक्लिएको छ । आर्मी पहिलो खेलमा पुलिससँग १–१ र दोस्रो खेलमा मछिन्द्रसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

बीबीसीको यो पहिलो हार हो । पहिलो खेलमा एपिएफलाई ३–२ ले पराजित गर्दा एनआरटीसँग गोलरहित बराबरीमा रोकिएको थियो । तीन अंक जोडेको बिबिसी तालिकाको सातौं स्थानमा झरेको छ ।

यसअघि पहिलो हाफ बराबरीमा सकिएको थियो । बाकी समय दुवै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

बिबिसीका शिशिर लेखीले पेनाल्टी बक्स बाहिरबाट २६औं मिनेटमा गरेको प्रहार क्रसबार माथिबाट बाहिरियो ।

आर्मीका मिडफिल्डर सन्तोष तामाङले ३७औं मिनेटमा बायाँतर्फबाट प्रहार गरेको कर्नरमा कप्तान भरत खवासको हेडर फ्रेममा परेन ।

आर्मीका सन्तोष तामाङको पासमा ६२औं मिनेटमा टेकबहादुर बुढाथोकीले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार बिबिसीका गोलकिपर पूर्ण लिम्बुले बचाए । अब बुधबार तेस्रो चरणका अन्तिम दुई खेल आयोजना हुनेछन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.