सभापतिका आकांक्षी पौडेललगायत चार नेतालाई मिल्न युवा नेताको अल्टिमेट (सुझावसहित)

काठमाडौं । रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइराले २३ गतेसम्म आपसमा मिल्न समयावधि पाएका छन् । 

यसअघि सभापित शेरबहादुर देउवाविरुद्ध एकजुट भएर लड्न् उद्घोष गर्दै आएका सभापतिका आकांक्षी यी चार नेतालाई युवा नेताले सो समयावधि दिएका हुन् । 

सोमबारको भेलामा कांग्रेसका युवा नेता गगन थापा, बद्री पाण्डे, चन्द्र भण्डारी, धनराज गुरुङ, दीपक गिरी र सरिता प्रसाईलगायत सहभागी थिए । उनीहरू सबैले कांग्रेसमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताएका थिए ।

सभापतिका आकांक्षी चार नेतालाई युवा नेताले के भने ?

गगनकुमार थापा

हामीले प्रशस्त गृहकार्य गरिरहेका छौँ । नेतृत्व परिवर्तन हुनुपर्छ । तसर्थ तलबाट आउने साथीको मत नबाँडियोस् भन्ने हामी चाहन्छौँ । २४ गते महाधिवेशन उद्घाटन हुँदै छ, २३ गतेभन्दा उता हामी पर्खन सक्दैनौँ । महाधिवेशन उद्घाटनका बेलामा हामी ठोस निर्णय गरेर जानुपर्छ ।

धनराज गुरुङ

रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह र डा. शशांक कोइराला २३ गतेभित्र मिल्नूस् ।अहिले हामी जिल्ला सभापतिकै टाउको गनिराखेका छौँ । आफ्नो पक्षका जिल्ला सभापति बसेर गोप्य मतदान गरौँ । जसको बढी आउँछ, उही उम्मेदवार बनौँ ।

उहाँहरुले गर्न सक्नुभएन भने चन्द्रजी र गगनजीले भनेजस्तै हामी टिम बनाउँछौँ, उपसभापति दुईवटा, महामन्त्री दुईवटा, सहमहामन्त्री आठवटा । त्यसपछि सदस्यहरुको टिम बनाएर सभापतिमा हामीलाई यो मान्छे चाहिन्छ भनेर जानुपर्ने बाध्यात्मक परिस्थितिमा हामी पुग्न सक्छौँ । यो अन्तिम विकल्प हो, २३ गतेभन्दा उता जान सक्ने परिस्थिति छैन ।

पूर्वसांसद सरिता प्रसाई

कांग्रेस बिग्रियो भन्नेहरुले पनि पुरानै नेतृत्वलाई भोट हाल्ने गरेको गुनासो गर्दै परिवर्तन चाहने हो भने नयाँ नेतृत्व चुन्नुपर्छ । 

युवा नेता बद्री पाण्डे

सुदुरपश्चिममा संस्थापन इत्तर पक्षको पोजिसन राम्रो छ । प्रदेशको अधिवेशन र जिल्ला सभापतिको गणितलाई मात्रै हेरेर महाधिवेशनको मत अडकल गर्न सकिँदैन । 

दीपक गिरी

देउवा पक्षले मतदानमै धाँधली गरिरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.