पछिल्लो समय नेपाली कांग्रेसभित्र तेस्रो धारका रुपमा परिचित सिटौला गुट कि च्याँखे थाप्ने समूह भनी प्रश्न उठ्न थालेको छ ।
१३औँ महाधिवेशनपूृर्वबाट तेस्रो धारका रुपमा चिनिँदै आएका सिटौला समूहबाट १४औँ महाधिवेशनका क्रममा दुई जिल्लामा मात्र सभापति चयन भएसँगै सिटौला समूह ‘गुट कि च्याँखे समूह’ भनी प्रश्न उठ्न थालेको हो । सिटोला समूहले झापा र बागलुङमा मात्रै जिल्ला सभापतिमा जितेको छ ।
१४औँ महाधिवेशनका क्रममा अङ्क गणितीय जिल्लास्तरीय सिटौला समूहको परिणाम हेर्दा ६१ जिल्लामध्ये दुई जिल्लामा मात्र उनकाे उपस्थिति छ । यसअघि सिटौलालाई राष्ट्रव्यापी गुटको रुपमा हेरिएको थियो ।
यद्यपि उनीनिकट नेता सभापति शेरबहादुर देउवा र इत्तर समूहमा आबद्ध भएपछि उनको समूह कमजोर भएको केहीको विश्लेष्ण पनि गरिन्छ ।
को-को छन् सिटौला समूहमा
सिटौला समूहमा अहिले प्रदीप पौडेलसहित उमाकान्त चौधरी, भीमसेनदास प्रधान, उद्धव थापा, सुधीर शिवाकोटी, शिवप्रसाद हुमागाईंलगायत नेता छन् । उनी कम्तीमा पौडेल र चौधरीलाई पदाधिकारीसहित आफूनिकट अन्य नेतालाई केन्द्रीय समितिमा पुर्याउन चाहन्छन् ।
१३औँ महाधिवेशनमा सिटौला समूहको उपस्थिति
सिटौलाले १३ औं महाधिवेशनमा तीन सय २४ (खसेको मतको १० प्रतिशत) मत ल्याएका थिए । तत्कालीन संस्थापन समूहमा रहेका उनको उम्मेदवारीले शेरबहादुर देउवा र रामचन्द्र पौडेल (संस्थापन समूह) लाई पहिलो चरणमा निर्वाचित हुनबाट रोकेको थियो । दोस्रो चरणमा उनको सहयोगबाट देउवा सभापति हुन सफल भएका थिए ।
यही मतका कारण देउवा सभापति बने । तर, समय व्यतितसँगै सिटौलाले देउवाको आलोचना गरेका थिए । यद्यपि १४औँ महाधिवेशनमा सिटौलाले पुनस् देउवालाई नै सघाउने संकेत गर्दै आएका छन् ।
के-के लिए उनले गटगत फाइदा
देउवा सभापतिमा चयन भउसँगै देउवाबाट सिटौलाले नेविसंघ, तरुण दल र महिला संघमा नेतृत्व देउवा पक्षलाई दिएर आफ्नो समूहका नेतालाई पदाधिकारीमा स्थापित गरेका छन् ।
त्यसैगरी, पौडेललाई समर्थन गरेर उनले ट्रेड युनियन कांग्रेस, शिक्षक संघ, निजामती कर्मचारी संघ, नेपाल निर्माण मजदुर संघ र यातायात मजदुर संघमा देउवा पक्षलाई हराउँदै आफ्नो स्वार्थसिद्ध गरे ।
१४औँ महाधिवेशनमा के गर्लान् सिटौला
१४ औँ महाधिवेशनका क्रममा न्यून उपस्थितिमा रहेका सिटौला के गर्छन् भनी चासोका साथ हेरिएको छ । यद्यपि, उनका क्रियाकलापले उनी यसपटक पनि देउवा खेमामा रहने संकेत देखिँदै छ ।
प्रदेशगत रुपमा कस्तो छ, संस्थापन-सिटौला समूह
प्रदेश निर्वाचनको नतिजा केलाउँदा संस्थापन–सिटौला समूह स्पष्ट बहुमतमा देखिएको छ । ६ वटा प्रदेशमा कुल आठ हजार एक सय ७१ मत सदर भएकामा संस्थापन–सिटौला समूहका सभापतिले चार हजार तीन सय ३४ मत ल्याएका छन् ।
सिटौलालाई कसरी लिन्छन् देउवा-पौडेलले
बेलाबेला देउवा–पौडेल पक्षका केही नेताले सिटौलाको ‘हैसियत’माथि प्रश्न उठाए काँग्रेसभित्र उनको स्थान जर्बस्त देखिन्छ । त्यसैले पनि उनी देउवा–पौडेल समूहमा मिसिन चाहँदैन । सिटौलालाई पौडेल समूहमै एकाकार गराउने प्रयास दुई वर्षदेखि चल्दै आएको छ ।