काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहको बैठक निष्कर्षविहीन भएको छ ।
बुधबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहमा पदाधिकारीका आकांक्षी नेताहरुसँग छलफल गरेका थिए ।
देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकमा आकांक्षी धेरै भएपछि सहमति जुट्न नसकेको एक नेताले बताए । सभापतिमा देउवाको उम्मेदवारी निश्चितजस्तै भए पनि अन्य पदाधिकारीका उम्मेदवारको टुंगो लगाउन संस्थापन समूहमा सकस छ । उपसभापति विजयकुमार गच्छदारले आफू सभापतिबाहेक दोस्रो पदका लागि दावेदार भएको बताए ।
त्यस्तै, सहमहामन्त्रीमा खस आर्यतर्फबाट किशोर सिंह राठौर, मधेशीबाट अजय चौरासिया र महेन्द्र यादव, महिलाबाट डा. डिला संग्रौला र महालक्ष्मी उपाध्याय डिनाले दावी गरेका छन् भने पुष्पा भुसालले पनि पदाधिकारीमा दावी गरेको संस्थापन पक्षका एक नेताले बताए ।