पौडेललाई उम्मेदवार बनाउने निर्णयसँगै पौडेल समूहका केन्द्रीय नेताको दौडादौड

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका केन्द्रीय सदस्यको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

निर्णयसँगै केन्द्रीय सदस्यहरु सभापतिका आकांक्षीलाई मनाउन लागि परेका छन् । जसका लागि केन्द्रीय नेताहरुको दौडादौड जारी छ ।  

छलफल सकेर युवा नेताहरू प्रकाशमान सिंह र शेखर कोइरालालाई भेट्न गएका छन् । अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महत प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन् भने गगन थापा, धनराज गुरुङ र जीवन परियारलगायत नेता शेखर कोइरालालाई भेट्न गएका छन् ।

बिहीबार बिहान बत्तीसपुतलीमा बसेको कांग्रेस केन्द्रीय सदस्यको भेलाले सो निर्णय गरेको हो ।

पौडेललाई सभापतिको उम्मेदवार बनाउने र सभापतिका अन्य आकांक्षीलाई उपसभापति र महामन्त्रीलगायतका पदाधिकारीमा व्यवस्थापन गर्न पनि उनीहरुले सुझाव दिएका छन् ।

मंगलबार पौडेल र महामन्त्री शशांक कोइरालाले आकांक्षीद्वय प्रकाशमान र शेखर एक भएर आएमा आफूहरूले छाडिदिने बताएका छन् बुधबार दिनभर भएका छलफलमा शेखर र प्रकाशमानले अडान नछाडेपछि साँझ पौडेल भावुक अभिव्यक्ति दिएर गणेशमान निवास चाक्सीबारीबाट बिदा भएका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.