केपी ओली झै शक्तिशाली होलान् देउवा ?

काठमाडाैँ ।  नेपाली काँग्रेसको १४ औं महाधिवेशन बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हुँदैछ । करिब ६ वर्षपछि काँग्रेस १४ औं महाधिवेशनमा छ । काँग्रेसलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिको रुपमा हेर्ने गरिन्छ ।

नेपालमा विशेषतः सत्तामा रहिरहने पार्टीमध्ये पहिलो पार्टी हो, नेपाली काँग्रेस । नेपाली राजनीतिमा २०६३/०६४ अघिसम्म काँग्रेस र नेकपा एमालेको वर्चश्व रहेको थियो । १० वर्षे जनयुद्ध बिसाएपछि भने नेपाली राजनीतिमा माओवादी पार्टी पनि सत्तामा देखिन्छ । तत्कालीन समयमा भने यी तीन पार्टीबीचको प्रतिष्पर्धा रामै्र चल्ने गरेको छ ।

आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गराउन निर्वाचन आयोगले तयारी थालेको छ । यसका लागि आयोगले मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिएको छ । आयोगको चुनावी तयारीसँगै राजनैतिक दलहरु पार्टी महाधिवेशमा जुटेका छन् । अहिलेसम्म २ दलले आफ्नो महाधिवेशन सम्पन्न गरेका छन् । केही दलहरु महाधिवेशनको संघारमा उभिएका छन् । बाँकी दल महाधिवेशन, राष्ट्रिय सम्मेलनको तयारीमा जुटिरहेका छन् ।

मंसिर १० देखि १४ गतेसम्म चितवनको सौराहमा भएको नेकपा (एमाले) को महाधिवेशनमा पूर्व प्रधानमन्त्री खड्ग प्रसाद ओली पुनः अध्यक्षमा चयन भएका छन् । अध्यक्ष पदका लागि उनीसँग चुनावी मैदानमा उत्रिएका भिम रावल पराजित भएका हुन् । तर, पार्टीका कार्यकर्ताले ओलीलाई नै पुनः अध्यक्ष पदमा हेर्न चाहेपछि रावल र ओलीबीच भएको मतदानमा ठूलो अन्तर देखिएको हो । केही नेताले पार्टी र देश दुवैले ओलीलाई खोजेको भन्दै रावललाई पछि हट्न सुझाव समेत दिएका थिए ।

कार्यकर्तामा ओली मोह किन ?

धेरै बोल्ने, सबै तहका कार्यकर्तासँग गफिने ओलीको बानीका कारण पनि धेरै कार्याकर्ताले ओलीलाई रुचाउने गरेको देखिन्छ । उनको यो बानीप्रति पूर्वमाओवादी नेता लेखराज भट्ट आकर्षित भएको भट्टले एक अन्तर्वार्तामा बताएका छन् । ओलीको स्कुलिङ बलियो भएकोले पनि अधिक मत खसेको देखिन्छ । एमाले महाधिवेशनमा कुल २१ सय ५३ मतमध्ये ओलीले १८ सय ३७ मत प्राप्त गरेका थिए । उनका प्रतिपक्षी रावलले भने २ सय २३ मत प्राप्त गरेका थिए ।

राष्ट्रप्रतिको उनको बलियो निर्णयका कारण पनि उनी कार्यकर्तामाझ लोकप्रिय बनेका हुन् । देश विपतले गाँजिएको समय छिमेकी राष्ट्रको व्यवहारप्रति उनको कठोर उभ्याइ, भारतले मिचेको नेपाली भू–भाग फिर्ता ल्याउन गरिएको पहल लगायतका कदमले नै उनलाई र एमाले पार्टीलाई अझ बलियो बनाएको हो । यसकारण पनि धेरैले ओलीलाई अध्यक्षमा रुचाएको देखिन्छ ।

कमल थापा किन दोहोरिएनन् ?

मंसिर १८ मा सम्पन्न भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भए । उनको विजयले विगत ३० वर्षदेखि राजतन्त्रलाई शिरोपर गर्दै आएका थापालाई राजनीतिक सन्देश दिएको छ । हारलाई स्वीकार्न भने थापालाई सकस पर्यो । उनको त्यो सकस ट्वीटरमा देखिएको छ ।

केपी ओली जस्तै राप्रपामा पनि थापा नै दोहोरिनेमा धेरैले अनुमान गरेका थिए । तर, मत परिणामको नतिजा भने ठीक विपरीत आयो ।

थापाको हारलाई राप्रपाकै धेरै नेताहरुले स्वभाविक रुपमा लिएका छन् । पूर्व युवराज्ञी हिमानी शाहले लिङदेनलाई जितको शुभकामना दिएकी थिइन् । उनले सामाजिक सञ्जालमा थापा अवसरवादी नेता भएको लेखेकी थिइन् । नातावाद र कृपावादमा नेता बनेका थापाको हारले अर्का राष्ट्रवादी नेता जन्माउन सफल भएको भन्दै उनले लिङ्देनलाई शुभकामना दिएकी हुन् ।

थापा गणतन्त्रकालमा पनि मन्त्री बन्दै आएका थिए । जसका कारण उनलाई अवसरवादी नेताको रुपमा हेरिएको अनुमान छ ।

दोहोरिएलान त देउवा ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदैछ । महाधिवेशनका लागि प्रत्येक जिल्ला, प्रदेशबाट प्रतिनिधि काठमाडौं प्रवेश भइसकेका छन् । संस्थापन इतर समूहमा सभापतिको उम्मेद्वारबारे अझै टुङ्गो लाग्न सकेको छैन । सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको गुटबीच रामै्र प्रतिष्पर्धा चल्ने अनुमान पौडेल र कृष्णप्रसाद सिटौलाबीचको भेटबाट पनि पुष्टि हुन्छ ।

यता विमलेन्द्र निधि सभापतिमा उम्मेद्वारी दिने तयारीमा जोडतोडका साथ लागि परिरहेका छन् । उनले उम्मेद्वारी घोषणासँगै सम्पर्क समिति समेत स्थापना गरेका छन् । उनको यो निर्णयपछि देउवाले संस्थापन समुहको बैठकमा समेत उनलाई बोलाएनन् । निधि भने आफू संस्थापन समूहमा नभएको देउवाले बैठकमा नबोलाउनु स्वभाविक रहेको बताउँछन् । साथै आफू आन्तरिक तयारीमा लागिरहेकोले पनि उनले देउवाको बैठकलाई बेवास्ता गरेका हुन् । अघिल्लो समय देउवाकै पक्षबाट निधि उपसभापति बनेका थिए । सभापतिमा उम्मेद्वारी दिने निधिको एकल निर्णयले देउवामा भने केही प्रभाव जरुर परेको देखिन्छ ।

नेतृत्व परिवर्तन गर्नुपर्छ, भन्ने मान्यता कांग्रेस नेताहरुमा नभएको भने होइन । युवा नेता गगन कुमार थापाले खुलेरै आफ्नो विचार व्यक्त गर्दै आइरहेका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा देखिएको कांग्रेस नेताहरुको गतिविधिले भने देउवा नदोहोरिने सम्भावना न्यून देखिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.