काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदैछ । देउवा र पौडेल पक्षमा सभापतिको होडबाजी चलेको छ । पौडेल पक्षले अझै साझा उम्मेद्वार चयन गर्न सकेको छैन ।
तेस्रो धार बताउँदै आएको सिटौला पक्षको सहयोग जुन पक्षलाई दिन्छ, त्यही पक्ष विजयी हुने सम्भावना ज्यादा छ ।
सिंहले आफ्नो अडान नछाड्दा पौडेल पक्ष सकसमा छ । तर, अन्त्यमा युवा नेताहरुको आकांक्षा बुझ्दा एक पटक पौडेललाई नै सभापतिमा साझा उम्मेद्वार बनाउने स्थिति देखिन्छ । पौडेल र देउवा बीच १४ औं महाधिवेशनमा निकै ठूलो भिडन्त हुने देखिन्छ ।
कांग्रेसका कार्यकताहरु विचार, विधानमा भन्दा पनि गुटगत रुपमा खुलेको देखिन्छ । जसरी हुन्छ, आफ्नो पक्षलाई जिताउने रणनीतिमा छन्, प्रतिनिधिहरु । अहिले सम्मको जिल्ला र प्रदेश अधिवेशन हेर्दा देउवा र पौडेल समूहको नै सम्भावना देखिन्छ ।
दुईगुटमा विभाजित कार्यकर्ताले कुन योग्य, कुन क्षमतावान भन्दा पनि कसले आफूलाई सहयोग गर्ने त्यतामात्रै ध्यान दिएको देखिन्छ । कुन योग्य हुन त दुईमा अहिलेसम्म कसैले मुल्याङ्कन गरेको पाइदैन ।
रामचन्द्र पौडेल प्रजातान्त्रिक आन्दोलनका नेता हुन् । उनी तनहूँ क्षेत्र नं.२ बाट संविधान सभामा विजयी भएका थिए । उनले २०४८ को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं.२ बाट विजय हासिल गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पौडेल नेपाली काङ्ग्रेस संसदीय दलका नेता हुन् । शान्ति तथा पुनर्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसकेका पौडेलले पार्टी मुखपत्र नेपाल पुकारको सम्पादक लगायत विभिन्न जिम्मेदारी वहन गरिसकेका छन् ।
बी.पी. कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीतितर्फ आकर्षित भएका ६३ वर्षीय पौडेलको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै शुरु भएको हो । पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनी पटक–पटक गरी १३ वर्ष जेल परेका छन् ।
प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरवन्दमा परेका थिए । प्रजातन्त्रप्रतिको निष्ठा र जनतासँगको अटुट लगावले आफूलाई विजयी बनाएको बताउने पौडेल संविधान सभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने विषयलाई प्रमुखताका साथ उठाउने अठोट व्यक्त गर्छन् ।
अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रा लगायत आधा दर्जन कृतिहरू प्रकाशित छन् ।
शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति तथा नेपालका वर्तमान प्रधानमन्त्री हुन । देउवा नेपाली कांग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै २०५२ सालमा पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए । उनी पटक पटक गरी देउवा ५ पटक प्रधानमन्त्री बन्न सफल भइसकेका छन् ।
नेपाली कांग्रेसको विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बनेका थिए । कांग्रेस पुनर्मिलन पश्चात् उनी आफ्नो पार्टीसँगै नेपाली कांग्रेसमा समाहित भएका हुन् ।
शेरबहादुर देउवा डडेलधुरा जिल्ला क्षेत्र नं. १ र कञ्चनपुर जिल्ला क्षेत्र नं. ४ बाट संविधान सभामा प्रतिनिधित्व गर्दछन् । उनी २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजय भएका छन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी सङ्घका प्रथम सभापति हुन् । राजनीतिक संघर्षका क्रममा उनले ९ वर्ष जेल जीवन बिताएका छन् । देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा अक्षम भनी विघटन गरेका थिए ।
उनी दुई वर्षपछि २०६१ सालमा पुनः प्रधानमन्त्री नियुक्त भए । पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) को गठन गरेका हुन् ।
प्रजातन्त्र प्रतिको अटूट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधैँ विजयी गराउँदै आएको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउछन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् ।
देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय देउवा नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् ।