नेपालको प्रदर्शन उत्साहजनक, राष्ट्रिय टोलीबाट सिर्जनाको डेब्यु,
सिर्जनासिंह ठकुरीले नेपाल राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गरेकी छन् ।

काठमाडौं । सिर्जनासिंह ठकुरीले नेपाल राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गरेकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी बंगलादेशविरुद्धको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै सिर्जनाले राष्ट्रिय टिमबाट डेब्यु गरेकी हुन् ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सिर्जनालाई हीरा भुजेलको स्थानमा मैदान प्रवेश गराएका हुन् । गत राष्ट्रिय महिला लिगमा डिफेण्डर सिर्जनाले विराटनगरबाट खेलेकी थिइन् ।

यसैबीच दोस्रो हाफको खेल जारी रहँदा नेपालले २–० को अग्रता बनाएको छ । नेपालका लागि दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गरे ।

खेलको १४ मिनेटमा सविताले नेपाललाई अग्रता दिलाइन् । सविताले राइट विंगर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउँदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन् ।

खेलको २४ मिनेटमा १६ वर्षकी खेलाडी प्रीति राईले डेब्यु गोल गरेकी हुन् । प्रीतिले मिडफिल्डर सरु लिम्बूको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन् ।

नेपालको उमेर समूह यू–१५ र १९ टोलीबाट खेलिसकेका प्रीति र सविताले डेब्यु खेलमै राष्ट्रका लागि गोल गरेका हुन् ।

खेलको ४९ मिनेटमा नेपालले तेस्रो गोल गर्ने मौका गुमायो । मैदानको बायाँ भागबाट सरुले मिलाएको पासमा प्रीतिले सिक्स यार्ड बक्सबाट हानेको सशक्त प्रहार बंगलादेश गोलरक्षक रुप्ना चक्माले उत्कृष्ट पन्च गरिन् ।

प्रशिक्षक फिलिप्स ग्यारीले नेपालको प्लेइङ सेटमा सविता र प्रीतिलाई डेब्यु गराएका थिए । यसअघि ग्यारीले ३२ सदस्यीय टोलीमा सात जना नयाँ अनुहारलाई स्थान दिएका थिए ।

नेपाल र बंगलादेश दुवैले एएफसी महिला एसिया कप छनोटको तयारी स्वरूप दुई मैत्रीपूर्ण खेल खेलेका हुन् । दोस्रो खेल शुक्रबार हुनेछ ।

एएफसी महिला एसिया कप–२०२२ को छनोट खेलमा नेपाल समूह ‘एफ’मा रहेको छ । नेपाल सम्मिलित समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । नेपालले पहिलो खेल १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग उज्वेकिस्तानमा खेल्नेछ ।

यता, ‘जी’ समूहमा रहेको बंगलादेशले इरान र जोर्डनको सामना गर्नेछ ।

नेपाली टिमः

गोलरक्षकः एन्जिला तुम्बाप्पो सुब्बा
डिफेण्डरः हीरा भुजेल, गीता राना, अमृता जैसी, पूजा राना
मिडफिल्डरः सविता राना मगर, रेणुका नगरकोटे, दीपा राई, मन्जली कुमारी योञ्जन, बिमला चौधरी
स्ट्राइकरः सरु लिम्बू

© 2021 Quicknepal.com  |  All Rights Reserved.