तोडियो ओली-प्रचण्ड संवादहीनता

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रको अन्तिममा ओली प्रचण्ड संवादहीनता तोडिएको छ । माओवादी केन्द्र र एमालेको विभाजन फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि औपचारिक रुपमा भएपछि उनीहरुबीच संवादहीनता बढेको थियो । 

केपी ओली सरकारले संसद विगठन गरेपछि प्रचण्ड र ओलीबीचको तिक्तता थप बढेको थियो । उनीहरुबीच सार्वजनिक मञ्चमा नै एक अर्काप्रति लक्षित गरेर कटाक्ष बढेको थियो ।   

प्रचण्ड नेकपा एमालेको १०औँ महाधिवेशनमा पनि शुभकामना दिन उपस्थित भएका थिएनन् । उनले शुभकामना दिनका लागि पार्टी स्थायी सदस्य लिलामणी पोखरेललाई पठाएका थिए ।  जुन घटनालाई निकै चासोपूर्वक हेरिएको थियो । दुई नेता एका अर्काप्रति निरन्तर आलोचनात्मक थिए । 

नेकपा एमाले मुद्धाको हिसाबले दक्षिणपन्थी धारमा गएको र राजावादी मुद्दालाई टेवा पुर्‍याउन खोजेको आरोप प्रचण्डका अभिव्यक्तिमा देखिँदै आएकाे छ । र केपी ओलीले  पनि प्रचण्डको राजनीतिलाई आलाेचना गर्दै आएका थिए ।  

उनीहरुबीचको संवादहीनताले देशको लोकतन्त्रलाई नै खतरा हुने देखिएको बेला नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनकाे उद्घाटन सत्रमा एक अर्काप्रति नमस्कार गरेर करिव ३० सेकेण्ड संवाद भएकाे हाे । स‌ंवादमा सामान्य कुराकानी भएकाे अनुमान गरिएकाे छ । कुराकानी हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा ओली-प्रचण्डकाे बीचमा थिए ।

प्रचण्ड कार्यक्रम स्थलबाट बाहिरिने क्रममा मञ्चमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग विदा हुने क्रममा ओली पनि मञ्चमा सँगै थिए । देउवासँगै रहेका ओलीसँग पनि प्रचण्डले बिदा मागेर नमस्कार गरेका हुन् । जुन दृष्य नेताहरु मञ्चमा प्रवेश गर्दाकाे अवस्थामा देखिएकाे थिएन । 

माधव नेपाल भने केपी ओलीले सम्बोधन गर्ने क्रममा मञ्चबाट बाहिरिए । उनले आफ्नो सम्बोधनका क्रममा पूर्व राजालाई कटाक्ष गरेका छन् । उनले पूर्व राजालाई राजनीतिक दल खेल्न पनि सुझाएका हुन् । 

प्रचण्डकाे सम्बोधनकाे अ‌ंश

'यहाँ अघि भारतीय जनता पार्टीका नेता र पूर्व मन्त्रीले बढो सुखद् आश्चर्यका रुपमा व्यक्त गर्नु भयो । मञ्चमा थुप्रै यति धेरै पू्र्व प्रधानमन्त्रीहरु एउटै मञ्चमा कहिल्यै देखेको थिइन् भन्नु भयो । हुन त उहाँ भर्खरै जानु भयो म उहाँलाई के सुनाउन चाहन्थे भने तपाइलाई अर्को सुखद् आश्चर्य सुनाउन चाहन्छु । सबै पूर्व प्रधानमन्त्रीहरु सबैले एकले अर्कालाई बनाएका पूर्वप्रधानमन्त्रीहरु हुन ।

यो अनौँठो संस्कृति नेपालमा बढो आश्चर्यका साथ नेपालमा देखिएको छ । हामी आपसमा विचारमा, राजनीतिमा, बेला बेला निकै चर्को प्रतिस्पर्धा पनि गर्ने गरेका छौँ । र, हामीलाई जरुरी पर्दा एकले अर्कालाई हातेमालो गरेर प्रधानमन्त्री बनाउन पनि पछि परेका छैनौँ ।

यो संस्कृति पनि भारतीय जनता पार्टीका नेतालाई मैँले भन्न चाहेको थिए उहाँ गइसक्नु भयो । सायद सुन्नु होला उहाँले र यहाँ विचार प्रस्तुत हुने क्रममा एक जना वक्ताले नेताहरु आए भने अहिले गाउँ घरमा, देशमा चोर आयो भन्छन् जनताले, तपाइहरुले सुन्नु भयो ।

यो साँचो हो त साथिहरु ? होइन गलत हो । यो के का लागि भनियो ? जतिबेला हामी लोकतान्त्रिक दल र लोकतन्त्रको लागि संघर्ष गरेका, शान्तिका लागि संघर्ष गरेका राजनैतिक दल र नेताहरुलाई बदनाम गर्न खोजिन्छ । त्यहाँ निरङकुश र तानशाही जन्माउने षडयन्त्र हो, भन्ने बुझिन्छ ।

यसमा बुझ्न जरुरी हुन्छ, कही न कही तानाशाही यसरी नै आँउछ । त्यसकारण हामी सर्तक हुन जरुरी छ । हामी ऐतिहासिक सन्दर्भमा, हामी समावेशी लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको जो प्रक्रियामा छौँ, यसको साइनो शान्ति प्रक्रियासँग छ ।

म एक पटक फेरि दिवङगत गिरिजा प्रसाद कोइरालालाई स्मरण गर्न चाहन्छु । सात राजनैतिक दलको तर्फबाट गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीको तर्फबाट विस्तृत शान्ति सम्झौतामा मैले हस्ताक्षर गरिसकेपछि अहिलेको लोकतान्त्रिक प्रक्रियाले गति लिएको हो । र, हामी अहिलेको विन्दुसम्म आएको हो ।

म तपाइ नेपाली कांग्रेस र हजारौँ शुभ चिन्तकहरुलाई भन्न चाहन्छु । गिरिजा प्रसाद कोइरालाको अवसान हुँदा गिरिजाको आह्वान, गिरिजाको सपना शान्ति र संविधान भनेर नारा लाएको म स्मरण गर्न चाहन्छु ।

अहिले हामी त्यो शान्ति प्रक्रियालाई पूर्णता तर्फ लैजाने र सुरु भएको त्यो शान्ति र लोकतान्त्रिक प्रक्रियालाई पूर्णतामा लौजाने क्रममा छौँ ।

हाम्री लोकतान्त्रिक गन्तव्यबाट कही कतै विचलित हुनु हुँदैन भन्ने म ठान्छु । म नेपाली कांग्रेसको यो महाधिवेशनले तपाइहरुको राजनैतिक एजेन्डा, आफ्नो शान्ति संविधानको मिसन, लोकतान्त्रिक गणतान्त्रिक संवैधानिक व्यवस्था र राष्ट्रिय स्वाधिनताकोे रक्षाको मिसनबाट दायाँबाँया हुने छैन, भनेर विश्वास पनि व्यक्त गर्न चाहन्छु ।

हामी सबै राजनैतिक दल र नेताहरुले सोच्नु पर्ने कुरा के भएको छ भने हामीले निरङकुशताको लडाईमा, तानशाही विरुद्धको लडाईमा त्यस खालको कुनै पनि प्रतिक्रियावादी, प्रतिगमनहरुको विरुद्धमा हामीले एकता कायम गरेका छौँ ।

सायद त्यो पंचायतीका विरुद्धमा होस् या २०३६ सालका होस्, ऐतिहासिक जनआन्दोलनको कुरा गरौँ या २०४६ सालको जनआनदोलन जसले पञ्चायती तानाशाहीलाई अन्त्य गर्‍यो । शान्ति प्रक्रिया हँदै १२ बुँदे सम्झदारी, १९ दिनको संयूक्त जनआन्दोलन सबैमा हामीले एकताको प्रर्दशन गरेका छौँ ।

नेपाली जनताले वीरता र बलिदानका थुप्रै कृतिमानहरु कायम गरेको छ । तर, हामी सबैले सोच्नु पर्ने गम्भिर विषय के छ, भने हामी एकल पार्टी सत्तामा जाँदा पनि या संयुक्त रुपमा सत्तामा जाँदा पनि हामीले आन्दोलनको समयमा जनताको अगाडि जे प्रतिज्ञा गरेका हुन्छौँ, सत्तामा पुगेपछि त्यसअनुसार व्यवहार गर्न सकेका छैनौँ । हामी सबैले आत्म समीक्षा गर्नु पर्ने विषय छ ।

सरकार संचालनमा जाँदा हामी काही न काही धर्ती छोडेकोे जस्तो काही न काही आफ्ना राजनैतिक प्रतिज्ञा र प्रतिबद्धता, जनताका अगाडि गरिएका निर्वाचनका बेलामा गरिएका, प्रतिबद्धताबाट विचलित भएका उदाहरणहरु २००७ सालदेखि २०६२/०६३ पछिको आन्दोलन पछिका सरकारमा पनि हामीले यो तितो यथार्थ भोगेका छौँ ।

अहिले तपाइ नेपाली कांग्रेसका सबै नेता साथीहरु, युवा नेताहरु विशेष गरी युवाहरुले यसको समीक्षा गर्न जरुरी छ । हामीले संष्लेषण गर्ने कुरा त्यस्ता आचरणहरुकोे मन्थन गर्न जरुरी छ ।

आफै शान्ति सम्झौतापछि देशको ठूलो पार्टी नेताको हैसियतले गणतन्त्रपछिको पहिलो प्रधानमन्त्री हुँदा स्मरण गर्न चाहन्छु । कही न कही ठूलो पार्टी भएर सत्तामा पुगेपछि कतै न कतै मनोगत अहंकार, कुनै न कुनै किसिमको दम्भ आउने र त्यसबाट जनतासँग को सम्बन्ध कमजोर हँदै जाने तितो अनुभव मैले गरेको छु ।

मलाई लाग्छ कतै न कतै हामी सबैले पनि कतै न कतै यो अनुभव गरेका छौँ । अहिले विभिन्न पार्टीका महाधिवेशन चलेका छन् । सम्मेलनहरु चलेका छन् ।

देशमा कुनै न कुनै रुपमा असहज परिस्थिति आउने पो हो, की हजारौँले दशकौँ लगाएर गरेको बलिदान, संघर्ष र बलिदानबाट प्राप्त भएको यो समावेशी लोकतान्त्रिक छवि सहित यो संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्रमाथि नै आँच आउने हो की ? भन्ने प्रश्नहरु खडा भएका छन् ।

गत सालदेखि नै हामीले त्यस खालका प्रवृति र संकेतहरु देख्यौँ । अहिले पनि काही न काही त्यस खालका खतराहरु छन् । लोकतन्त्रको निम्ति र गणतन्त्रको निम्ति यो शान्तिको निम्ति म अहिले अध्यक्षता गरिहेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्झन चाहन्छु । यस अर्थमा की नेपालमा शान्ति वार्ताको सुरुवात गर्ने श्रेय शेरबहादुर देउवालाई नै जान्छ । उहाँले नै मलाई पहिलो चिठी लेख्नु भएको हो । उहाँले वार्ताका लागि अपिल गर्नु भयो । र, क्रमश वार्ता हुँदै हामीले, साँच्चै दुनियाँलाई देखाउने गरी एउटा मौलिक प्रकृतिको शान्ति सम्झौता मात्रै गरेनौँ, हामीले शान्ति प्रक्रियाका केही जटिल र निकै चुनौतिपूर्ण विषय सफलतापूर्वक त्यसलाई, हामीले समापन गर्‍यौँ ।

यद्यपि केही विषय अझै बाँकी रहेका छन् । त्यसकारण नेपाली काग्रेसँग तपाइहरुको महाधिवेशनमा उभिएर मैले सम्बोधन गर्दै गर्दा, शुभकामना दिँदै गर्दा, नेपाली कांग्रेससँग माओवादी पार्टीको र माओवादीकोे हैसियतले म प्रचण्डको एक खालको विशिष्ट सम्बन्ध छ ।

विशिष्ट शान्ति सम्झौताको विषयमा मात्र हैन् । यो परिवेशलाई अग्रगति दिने र देशलाई अगाडि बढाउने विषयमा पनि हामीसँग गहिरो सम्बन्ध हुनु जरुरी छ । कहिले काही म सुन्छु पार्टीका साथीहरु एक्लै हिड्ने कुरा गर्नु हुन्छ । हामी एक्लै हिड्ने कुराको अहङकार कसैले पनि नगरौँ । हामीले राजनैतिक प्रतिस्पर्धा गरेपनि मिलेर नै हिड्ने हो ।'

© 2021 Quicknepal.com  |  All Rights Reserved.