काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले सभापतिमा शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । उनका निकटतम प्रतिष्पर्धी रहेका शेखर कोइराला पराजित भएका छन् । शेखर कोइराला पराजित हुने परिस्थिति लगभग पक्का जस्तै बनेको थियो, जतिबेला देउवालाई प्रकाशमान सिँह र विमलेन्द्र निधिले सहयोग गर्ने पक्का भयो ।
देउवालाई प्रकाशमान र विमलेन्द्रको सहयोग धेरैले अनपेक्षित मानेका छन् । प्रकाशमानलाई सामाजिक सञ्चालनदेखि चोक चोकमा सबैले आलोचना गर्ने क्रम सुरु भएको छ । बाहिरबाट हेर्दा आलोचना अस्वभाविक छैन । यो आलोचनालाई स्वाभाविक नै मान्नु पर्ने हुन्छ । किन भने उनी लामो समयदेखि देउवाइतर समूहमा रहेर राजनीति गरिरहेका थिए ।
प्रकाशमानमाथिको आलोचना यस कारण पनि भएको छ, कि उनी गणेशमानका पुत्र हुन् । गणेशमान कांग्रेसमा निष्ठाका राजनीतिको प्रतीकका रुपमा चिनिएका प्रतिष्ठित पात्र हुन् । कांग्रेसको स्थापनादेखि विकाससम्म गणेशमानको योगदान अतुलनीय थियो । कोइराला परिवारले राणासँग मिलेर कांग्रेसलाई अगाडि बढाएपछि सिँह किनारा लाग्न बाध्य भएका थिए । सुवर्ण शमशेर कांग्रेसको सभापति हुने विषयलाई धेरैले अस्वाभाविक मानेर हेरेका छन् ।
उनै गणेशमान पुत्र प्रकाशमानको १४ औँ महाधिवेशनपछिको कांग्रेसमा कस्तो भूमिका रहन्छ, यो विषय अब उनको हातमा छैन । यो विषय अब देउवाको हातमा छ । देउवाले उनलाई जसरी प्रयोग गर्ने इच्छा राख्छन् उनको भूमिका त्यस्तो नै रहनेछ ।
कांग्रेसभित्र समकक्षीबीच पनि प्रकाशमानप्रतिको बुझाइ अनुकूल हुने देखिँदैन । स्वाभाविक रुपमा उनी शक्तिको पछि लागेको प्रतिवाद उनले समकक्षीसँग गरिरहनु पर्नेछ । देउवाइतर समूहलाई कमजोर बनाउन सिँह र सुजाता कोइरालाको भूमिकाप्रति कोइराला समूहको नाराजगी रहने नै छ । तर राजनीतिमा यसै हुन्छ भन्ने अनुमान गर्नु स्वभाविक नभएपनि कोइराला समूहले सिँहबाट धोका भएको निष्कर्ष निकाल्छ भनि अनुमान गर्नु अस्वभाविक हुँदैन ।
प्रकाशमानसँग पुस्तान्तरणको वकालत गर्ने नैतिक धरातल बाँकी रहेन । कांग्रेस पुरानो पार्टी हो । यसैले पनि पार्टीमा पुराना नेताहरु हुनु अस्वभाविक होइन । पुरानो पार्टी हुनुले कांग्रेसमा नयाँ पुस्ता पनि जन्मिएको छ । अहिलेको नयाँ पुस्ता राजनीतिक रुपमा सचेत छ । अहिलेको नेपालको अर्थराजनीतिप्रति सचेत छ । समाज विकासका अवयवहरुलाई पहिल्याउन सक्ने खालको छ । जुन कुरा पुराना पुस्तामा भेटिँदैन । त्यसैले सचेत नयाँ पुस्तासँग प्रकाशमानको राजनीतिक नैतिकता धुमिल भएको छ ।