महामन्त्रीमा गगन र विश्व प्रकाश विजयी

काठमाडौँ ।  महामन्त्रीमा गगन र विश्व प्रकाश विजयी भएका छन् । उनीहरुसँग प्रकाशशरण महत, मिनेन्द्र रिजाल, प्रदिप पौडेल र राजाराम कार्की प्रतिष्पर्धामा थिए । उनीहरुको विजयसँग देउवा पक्षका दुवै उम्मेदवार पराजित भएका छन् ।

देउवा पक्षबाट प्रकाशशरण महत र प्रदिप पौडेल निर्वाचनमा थिए । महत देउवा पक्षका हुन भने पौडेल सिटौला पक्षका हुन् ।  

सानेपमा पत्रकारसँग कुराकानी गर्दै विश्वप्रकाशले भने ‘फरक फरक विचार समूहमा रहेका सबै साथीहरुको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु हो । यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो ।’

४६८२ मत गणना हुँदा गगनकुमार थापा ३०२३ मत प्राप्त गरेर अग्रस्थानमा विजयी भए । २२४६ मत ल्याएर विश्वप्रकाश शर्मा दोस्रो बने । गगन शेखर कोइराला र विश्वप्रकाशको प्रकाशमान सिँह प्यानलबाट महामन्त्री लडेका थिए ।

सभापतिमा विजयी शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरू प्रकाशशरण महतले १५५० र प्रदीप पौडेलले १४०९ मत प्राप्त गरे । शेखरकै टिमका मीनेन्द्र रिजालले ८०९ मत ल्याए । अर्का उम्मेदवार राजाराम कार्कीले १०७ मत पाएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.