वीरगञ्ज । एक हजार र पाँच सय दरका नेपाली नक्कली नोटसहित दुई जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरी टोलीले रौतहटको परोहा नगरपालिका–८ नरकटियामा पैदलयात्रु तथा सवारीसाधनलाई चेकजाँच गर्नेक्रममा दुबै जनालाई नेपाली नक्कली नोटसहित पक्राउ गरेको हो।
नेपाली नक्कली नोटसहित प्रहरीले भारत बिहारको मोतिहारीका २६ वर्षीय विकाश जयसवाल र सोही स्थानका ३२ वर्षीय अजय प्रसादलाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुबै जनाको साथबाट नेपाली नक्कली नोट एक हजार दरका ६९ थान र ५ सय दरको एक थान नोट बरामद गरिएको हो ।
दुबै जनालाई नियन्त्रणमा लिइ खोटा मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद गराइ कारबाही प्रक्रिया अघि बढाइएको छ ।