काठमाडौं। ‘साथी मार्ट’ को ब्रान्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त भएका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा ‘साथी मार्ट’ का फाउन्डर तथा सिइओ सागर पोखरेल र हमालबीच कागजी सम्झौता भएको हो ।
मार्टका सिइओ पोखरेलले हमालका कारण ‘साथी मार्ट’ लाई ब्रान्डिङ गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने , ‘रिटेल व्यवसायको एउटा ब्रान्डले फिल्म क्षेत्रको एउटा ब्रान्डसँग सहकार्य गर्न पाउनु खुसीको कुरा हो । नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको रिटेल व्यवसायको बजार छ भन्ने सन्देश दिनका लागि पनि राजेश हमालको माध्यमबाट ठूलो सहयोग पुग्छ भन्ने हामीले विश्वास लिएका छौं ।’
त्यस्तै, महानायक हमालले सार्वजनिक व्यक्ति भएपछि कुनै उत्पादन र कम्पनीमा जोडिँदा त्यसको विश्वसनियता र उद्देश्य के हो भन्ने कुराले महत्त्व राख्ने बताए । उनले भने, ‘यो कम्पनीको उद्देश्य र विश्वसनियता राम्रो भएकाले नै म ब्रान्ड एम्बास्डरको रुपमा आवद्ध भएको हुँ । अहिलेको अवस्थामा रिटेलिङ सपिङ्ग हरेक व्यक्तिको आवश्यकतामा पर्छ । कसरी सबैको आवश्यकतालाई सहज र सजिलोसँग परिपूर्ति गर्ने भन्नेमा ‘साथी मार्ट’ को उद्देश्यबाट म प्रभावित छु ।’
साथी मार्ट’ ले स्वदेशी उत्पादनलार्य प्राथमिकतामा राखेको छ । ‘स्वदेशी उत्पादन भनेपछि क्वालिटीमा कम्प्रोमाइज हुन्छ भन्ने हामी नेपालीहरुको सोचाइ छ । तर, त्यो धेरै ठूलो भ्रम हो । स्वदेशमा उत्पादन हुने कति चिजहरु विदेशमा उत्पादन हुने चिजभन्दा धेरै गुणस्तर हुन्छन् । यसैले हामी सबैले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्छ,’ हमालले भने ।
‘साथी मार्ट’ सुरुवातको १६ महिनामा सातै प्रदेशका शहरमा सात दर्जन बढी आउटलेट सञ्चालन गर्दै काकडभित्तादेखि जिरीसम्म पुग्न सफल भएको छ । 'साथी मार्ट’ ले यस वर्षभित्र तीन सय प्रतिशत विक्री बढाउने लक्ष्य लिएको छ । आगामी तीन वर्षभित्र एक हजार आउटलेट खोल्ने लक्ष्य राखेको यो मार्टले ‘मेड इन नेपाल’ कलेक्सनलाई जोड दिएको सिइओ पोखरेलले बताए ।
‘साथी मार्ट’ को वेबसाइट मार्फत पनि आवश्यक सामान अर्डर गर्न सकिनेछ । हाल मोबाइलमा एण्ड्रोइड भर्सनमा ‘साथी मार्ट’ को मोबाइल एप उपलब्ध रहेको र छिट्टै आइओएसमा पनि एप उपलब्ध हुने सिइओ पोख्रेलले जानकारी दिए ।
साथी मार्ट’ ले विनालगानी व्यापार गर्न सकिने गरी ‘साथी मार्ट एफिलिट स्टार्टअप’ प्लान पनि सुरु गरेको छ । यसबाट कम्तीमा ३० हजारदेखि ५० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य ‘साथी मार्ट’ को छ । जस अन्तर्गत साथी प्रोडक्सनका उत्पादन र साथीमार्टमा उपलब्ध अन्य सामान रेफर गरि तिस प्रतिशतसम्म आम्दानी गर्न सकिन्छ ।