काठमाडौँ । खोटेहाङ गाँउपालिकामा स्वास्थ्यको अवस्था सुधारात्मक रहेको पाइएको छ । गाउँपालिकाले इन्द्रेणी पोखरीमा अस्थायी कोभिड अस्पतालको स्थापना गरेको छ ।
कोभिड अस्पताल सञ्चालनका लागि एक जना डक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी गरी जम्मा पाँच जनाको टिमले सेवा प्रदान गरिरहेको खोटेहाङ गाँउपालिकाका स्वास्थ्य संयोजक यदुकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार गाँउपालिका भित्रका नागरिकहरुले पहिलो चरणमा ५ हजारको हारहारीमा खोप लगाइसकेका छन् । उनका अनुसार दोस्रो चरणमा ४ हजार ६ सय नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका हुन ।
गाउँपालिकाले आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरेर सेवा प्रदान गरिरहेको बस्नेतले बताए । स्वास्थ्य केन्द्रमा अहिले एक जना अहेव र एक जना कार्यालय सहयोगी रहेका छन् ।
नेपाल सरकारले निशुल्क उपलब्ध गराँउदै आएका ७० प्रकारका औषधिहरुमध्ये लगभग ६० प्रकारका औषधिहरुको पहुँच रहेको उनले बताए ।
उनका अनुसार आकस्मिक विरामीको उपचार सम्भव नभएको अवस्थामा मात्र गाउँपालिका बाहिर उपचारका लागि पठाउनु परेको छ ।
गाउँपालिकाका स्वास्थ्य चौकीमा अत्याधुनिक प्रविधिको विकास हुन नसकेकाले ठूला रोगको परीक्षण र उपचारका लागि जिल्ला अस्पताल तथा बाहिर जानुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ ।
गाँउपालिकाको वार्षिक प्रतिवेदन अनुसार स्थानीय गाउँ टोलमा सहज सेवा सञ्चालनका निमित्त ६ वटा खोप केन्द्रहरु स्थापना गरिएका उल्लेख छ ।
संघीयता लागू भएसँगै केन्द्र तथा प्रदेशले स्थानीय सरकारसम्म स्वास्थ्य सेवाको पहुँच बढाएको छ । जसको कारण स्थानीयवासीहरुका लागि स्वास्थ्य सेवाको दायरा फराकिलो भएको हो ।
खोटेहाङ गाँपालिकाले स्थानीय वासीहरुलाई सरल र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि नेपाल सरकार स्वास्थ्य विषेश कार्यक्रमअन्तर्गत आधारभुत अस्पताल ईन्द्रेणी पोखरीमा एक्स–रे मेसिन, आइसियू बेड, लगायतका स्वास्थ्य उपकरण खरिद प्रक्रियालाई अघि बढाएको छ, बस्नेतले बताए । अस्पतालमा प्रयोगशाला (ल्याब) पनि सञ्चालनमा छ ।
गर्भवती महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर गाँउपालिकाले ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम चलाएको छ । अहिले तालिम प्राप्त नर्सिङ स्टाफबाट गर्भवती महिलाहरुको चेक जाँच हुने बस्नेतले बताए ।