सुधा देव
सप्तरी । सप्तरीसहित तराईका जिल्लाहरूमा शुक्रबार चौरचन मनाइँदै छ। चन्द्रमाले सधैँ शीतल, उज्यालो र आनन्द दिने हुनाले देवता रूपी चन्द्रमाको पूजाआजा गरेर परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै घरघरमा चौरचन पर्व मनाइँदै छ।
यो व्रत भदौ महिनाको गणेश चौथी तिथिका दिन उदाउँदो चन्द्रमालाई फलफूल, मिठाइ, दही व्रतालु महिलाले दुवै हातले उठाए चन्द्रमालाई चढाउँदै इच्छाएको वरदान माग्ने चलन रहेको राजविराज नगरपालिका–२ कि व्रतालु लिला मण्डलले बताइन्।
‘यो व्रत गर्दा चिताएको पूरा हुने हुनाले तराईका महिलाहरूले अनिवार्य रूपमा यो व्रत बस्ने गरेका हुन्’, उनले भनिन् ।
यो व्रतमा दही, खीर ,विभिन्न किसिमको फलफूल मिठाइ , गहुँको पिठोले बनाएको खजुरी, ठेकुवा, पिठोको अपुँगो अनिवार्य रूपमा चढाइने चलन रहेको मण्डलले जानकारी दिइन् ।
यो व्रतमा श्रीमान्, छोरालगायत जतिजना पुरूष छन्, त्यतिवटा मडर बनाउने, माटोले बनाएको छाछ र छोरीको लागि छाछीमा दही जमाउने चलन रहेको सप्तरी फत्तेपुरकी सुषमा देवले बताइन्।
‘यो व्रतको दिन घरमुली महिलाले व्रत लिन्छिन्। घरका अन्य सदस्यहरूसमेत मिलेर चढाउने सामाग्री तयार पार्छन् । बेलुका चन्द्रमा उदाउने बेलामा घरको आँगन वा छतमाथि लिपेर चोखो पारिन्छ’, उनले भनिन् ।
चढाउने सबै सामग्री लिपेको ठाउँमा मिलाएर राख्ने र चन्द्रमा उदाउने बितिकै व्रतालु महिलाले सबै समाग्री दुबै हातले उठाएर चन्द्रमालाई देखाउँदै चढाउने गरेको देवको भनाइ छ । त्यसपछि परिवारका सबै सदस्यहरूले एउटा एउटा फलफूल हातमा लिएर पालैपालो चन्द्रमाको दर्शन गरेर ढोग्ने र आफूले चिताएको माग्ने चलन रहेको राजविराज–७ कि रूवी कर्णले बताइन्।
पूजा सकिने बितिकै पूजा अघि बनाएको मडरमा पुरूषहरू बसेर प्रसाद खाने चलन छ। सँगै परिवारका अन्य सदस्यले पनि प्रसाद खाने चलन रहेको कर्णको भनाइ छ।