विवेकशीलबाट निष्कासित पाण्डेले मिश्रलाई भने :  सरी ब्रो, राजतन्त्र मान्न सक्दिनँ

काठमाडौं । विवेकशील साझा पार्टीले  निष्कासन गरेका संयोजक मिलन पाण्डेले आफूमाथि अवैधानिक रुपमा कारबाही गरिएको बताएका छन् । 

कारबाहीपछि एक विज्ञप्ति जारी गर्दै पाण्डेले सो बताएका हुन् । पाण्डेले जारी गरेको विज्ञप्तिमा विधान र पद्धतिविपरीत आफूलाई हटाइएको उल्लेख छ । 

'पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधिमार्फत् नै हल गर्नुपर्नेमा सोविपरीत 'पार्टीबाट निष्कासन' गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दूराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु,' उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

‘त्यो पुस १, त्यो पुस ५, अनि आज पुस ६ । यी दिन लूटतन्त्रका विम्ब हुन्’, पाण्डेले ट्विटरमा लेखेका छन्, ‘तानाशाहीको पतन निश्चित छ भन्ने उदाहरण पनि। लोकतन्त्र र पार्टीले यस्ता पात्र र प्रवृत्ति सामना नगरी पार्टी बलियो हुँदैन। लोकतन्त्र बलियो हुँदैन। सरी ब्रो, राजतन्त्र मान्न सक्दिनँ।’

पार्टीमा ऊर्जाशील समय खर्चिएको र अग्रगामी पार्टी बनाउन प्रतिबद्ध रहेको भन्दै उनले आफूमाथि कसैले कारबाही गर्न नसक्ने विज्ञप्तिमार्फत् उनले दाबी गरेका छन् । 

'तत्कालीन विवेकशील नेपाली दलको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भइरहँदा, पार्टी एकता गर्दा र अन्य राजनीति अभियानमा संलग्न हुँदा विवेकशील साझा पार्टी गठन र सुदृढीकरणका लागि मैले निरन्तर सक्दो योगदान गरेको छु । र, अझै उन्नत, लोकतान्त्रिक र अग्रगामी पार्टी र राजनीतिका लागि मेरो सम्पूर्ण समय, विवेक र ऊर्जा लगाउन प्रतिबद्ध छु,' उनले भनेका छन्, 'मेरो आस्थालाई कसैले खोस्न र कारबाही गर्न सक्दैन ।'

© 2021 Quicknepal.com  |  All Rights Reserved.