काठमाडौं । नेकपा एमालेको क्रेज तराईमा बढ्न थालेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बहादुरगन्जमा भएको नेकपा एमालेको पार्टी प्रवेश तथा आम जनसभाले यस्तै संकेत गरेका छ ।
कपिलवस्तुको कार्यक्रममा एमाले अध्यक्ष केपी ओली लगायत अन्य पदाधिकारी उपस्थित थिए । कार्यक्रममा सहभागी नेताहरुले नेकपा एमाले प्रवेशको देशव्यापी लहर चलेको बताए ।

कार्यक्रममा हजारौँ जनताको उपस्थिति थियो । यही कार्यक्रममा सयौं मानिस एमाले प्रवेश गरेका हुन् । तराई भन्ने वित्तिकै तराई केन्द्रित पार्टी जसपा र लोसपा भन्ने बुझिए पनि यस्तो अवस्था छैन ।
ओलीले जसपा केन्द्रीय सदस्य मंगल प्रसाद गुप्तालाई प्रवेश गराउँदै कम्युनिष्ट सरकार ढालेर निकम्मा सरकार गठन गरेको टिप्पणी गरे ।
ओलीले आफू प्रधानमन्त्री भएको बेलामा धेरै काम भएको जनाएका थिए । उनले आफू नेतृत्वमा रहँदा भूकम्पले ढलेका संरचना निर्माण, खरको छानामुक्त अभियान, जनता आवास कार्यक्रम, हुलाकी राजमार्ग निर्माणजस्ता लोकप्रिय काम गरेको बताए ।

उनले एमाले विकासको नीति लिएर अघि बढेकोले पार्टीप्रति जनताको विश्वास बढेको दाबी गर्दै देशभर एमाले प्रवेशको लहर चलेको बताए ।
सत्तारुढ गठबन्धनप्रति कडा आलोचना गर्ने ओलीले कपिलवस्तुमा भने गाली गर्न समय खर्च गर्न चाहेनन् । प्रचण्ड र माधव नेपालप्रति इंगित गर्दै उनले राधेराधेको नाम लिएर झुक्याउन आउने बताए ।
ओलीले नेपालको जमिन बाँझो राखी भारतलाई पानी दिन नसकिने बताएका छन् । ‘यता नेपालतर्फको जमिन बाँझो छ । उता भारततर्फ नेपालको पानीले सिँचाइ भई खेती भएको छ,’ ओलीले भने । कपिलवस्तुमा सिँचाइको लागि नौमुरे जलाशय परियोजना आवश्यक रहेको उनले बताए ।

सभालाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् ।
उनले देउवा नेतृत्वको सरकार लक्ष्य, उद्देश्य, गन्तव्यविहीन भएको बताए । लुम्बिनी प्रदेशमा पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले नेपालका गुमेका भूमिसहितको नक्सा सार्वजनिक गरेका कारण ओली सरकार ढालेको दाबी गरेका हुन् ।
कार्यक्रममा एमाले सचिव लेखराज भट्टले सबै पालिकामा औद्योगिक ग्राम निर्माण गरिँदा देशमा आर्थिक क्रान्ति आउने विश्वास गरेको मन्तव्यमा बताए । सभामा अर्का सचिव छविलाल विश्वकर्माले पाँच दलीय गठबन्धनको सरकार चाँडै ढल्ने बताएका हुन् ।
कार्यक्रममा जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित कार्यकर्ता एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेका गुप्ताले कृष्णनगर लगायत कपिलवस्तुका पश्चिमी भेगको विकासको लागि एमाले प्रवेश गरेको बताए ।
यता काठमाडौंमा भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बनेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु सोमबार एकै मञ्चबाट प्रकट भए । नेकपा एकीकृत समाजवादी पार्टी निकट ‘समाजवादी प्रेस संगठन’ले ‘पुस पाँच कालो दिन’ भन्दै आयोजना गरेको कार्यक्रममा सहभागी नेताहरुले प्रतिगमन अझै टरिनसकेको साझा निष्कर्ष सुनाउँदै गर्दा उता एमालेको पार्टी प्रवेश गर्नेको भने तराई क्षेत्रमा लहर बढेको देखिएका हो ।

किन, बढ्दै छ जनविश्वास ?
केपी ओली सत्तामा रहेको बेला महन्थ ठाकुरसँग मिलेर नागरिकता विद्येयक प्रस्तुत गर्नुले एमालेको तराईमा उपस्थिति बढ्न गएको धेरैको बुझाइ छ । ओलीले तराई आन्दोलनमा जेल परेका आन्दोलनकारीलाई जेलमुक्त गर्न गरेको प्रयासले पनि काम गरेको हो । त्यस्तै एमालेमा प्रवु शाह लगायतलाई समेट्नुले पनि अर्थ राखेको छ ।
नेपालको नक्सामा भारतसँग विवादित क्षेत्र लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको नक्सामा समाहित गर्नुका साथै नाकाबन्दीको बेला राष्ट्रभक्ति देखाएको कारण तराईमा बलियो पकड बन्न गएको हो ।
