काठमाडौँ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुष ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ । माओवादीले यसलाई पहिलो राष्ट्रिय सम्मेलन भनेको छ । संघीयतापछिको पहिलो सम्मेलन भएकाले यसो भनिएको हो ।
यो सम्मेलनले माओवादीको आन्तरिक जीवनमा कति रक्त सञ्चार गराउनेछ त्यो त हेर्न बाँकी नै छ । बाहिर माओवादीको आन्तरिक जीवनमा यसले खासै प्रभाव नपार्ने मत पनि बढ्न थालेको छ । यसरी मत विकसित हुनुमा उसभित्रको लोकतान्त्रिक पद्धतिले गर्दा हो । तर, माओवादी नेताहरु आन्तरिक जीवनमा लोकतन्त्रको अभ्यास भइरहेको मान्दन् । उनीहरुको मत छ लोकतन्त्र भनेको निर्वाचनबाट नेतृत्व चयन गर्ने कुरामा मात्र सीमित छैन ।
माओवादी नेताले भने पार्टीभित्र नेतृत्व चयनमा कसैप्रति अन्याय नहुने छनौटको पद्धति प्रयोग भइरहेको छ । आवश्यकता अनुसार निर्वाचनको प्रणाली पनि प्रयोग गर्ने स्वतन्त्रता छ । यी सबै आवश्यकताको उपज हुन् । हामी छनौटलाई पनि मान्छौँ । कसले भन्न सक्छ यो छनौटको प्रणाली अलोकतान्त्रिक हो भनेर उनले प्रश्न गरे ।
माओवादी इतर बामपन्थी पार्टीहरुले आन्तरिक जीवनमा निर्वाचनको प्रणाली अपनाए पनि उनीहरुको निर्वाचन स्वच्छ छैन । निर्वाचनमा प्रत्यक्ष वा परोक्ष रुपमा पैसाको प्रयोग भइरहेको देखिन्छ । जसले गर्दा पैसा नहुने व्यक्तिले निर्वाचन जित्न सक्ने सम्भावना नगन्य हुन्छ । त्यसैले माओवादीले यसलाई बुर्जुवा प्रणाली भनेर दरकिनार गर्ने गरेको छ । बाम रुझानभित्र यस्तो मत विकसित हुनुलाई अन्यथा मान्न सकिँदैन ।
बाम पार्टीहरुले संगठन सञ्चालनका लागि लेनिनद्वारा प्रतिपादित जनवादी केन्द्रियतालाई आधार मानि आएका छन् । यो सिद्धान्तको प्रयोगमा नेपालको सन्दर्भमा केन्द्रियता हाबी भएको देखिएको छ । यसरी केन्द्रियता हावी हुनुले जनवादको मर्म खुम्चिएको हो । लेनिनले निर्णय प्रणालीमा कार्यकर्ताको सहभागिताको वकालत गरेका भएपनि नेपाली प्रयोगमा त्यस्तो देखिएको छैन ।
आखिर किन राजनीतिक दलहरु निर्णय प्रक्रियामा कार्यकर्ताको सहभागी महसुस गर्दैनन् । किन कि सबै राजनीतिक दलहरुभित्र लोकतान्त्रिक चरित्र कमजोर छ । समूहमा विश्वास गर्ने चरित्र कमजोर भएर गएको छ । राजनीतिक दलहरु सामूहिक शक्तिमा कम विश्वास गर्ने भएका छन् । यसको सट्टामा सानो स्वार्थ समूहमा विश्वास गर्ने हुन गएको देखिन्छ । गुट उपगुटको परिस्थिति निर्माण हुनुले पनि नेताहरु एकांगी हुन गएका हुन् । जसले गर्दा दलहरुप्रतिको आकर्षण नै कमजोर हुन गएको हो ।
पुष ११ देखि १३ सम्म हुने माओवादीको सम्मेलनमा १५३३ जना प्रतिनिधि सहभागी हुँदैछन् । १५ सय पार्टी सदस्य बराबर १ जनको दरले प्रतिनिधि सहभागी हुँदैछन् । जहाँ ७ भौगोलिक र ३ गैरभौगोलिक प्रदेशबाट ८०३ प्रतिनिधि गरी १५३३ जना प्रतिनिधि सहभागी हुन लागेका हुन् ।
यी प्रतिनिधिहरुले छनौट गर्ने नेतृत्वले नै आगामी माओवादीको विचारधारालाई कार्यान्वयन गर्नेछन् । अहिले मूल नेतृत्व परिवर्तन हुने संकेत देखिएको छैन । प्रचण्डले पेश गर्ने राजनैतिक प्रतिवेदन समाजवादको आधार तयार गर्नेप्रति केन्द्रित हुने माओवादी नेताको विश्वास छ । उनको राजनीतिक संश्लेषण अघि नै विवादित भएको छ । वित्तीय एकाधिकार पूँजीवादबारे उनको धारणाले यस्तो अवस्था आएको हो ।