माओवादी सम्मेलन :  प्रभाकर र अनन्तको प्रतिष्पर्धामा महरा निर्णायक
समाजवादबारे विश्वमा र नेपालमा पनि विभिन्न बुझाइ छ । वास्तवमा समाजवादको नेपाली मोडल कस्तो हुने भन्नेमा जोड दिएर बहस आवश्यक छ । माओवादी केन्द्र वैज्ञानिक समाजवादको वकालत गर्दै आइरहेको छ ।

काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रथम राष्ट्रिय सम्मेलनमा जुटेको छ । माओवादीको प्रथम सम्मेलन पुष ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ । माओवादीको राष्ट्रिय सम्मेलनमा देशभरबाट १५३३ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

जसमध्ये भौगोलिक ७ र गैरभौगोलिक ३ गरी १० प्रदेशबाट ८०३ जना प्रतिनिधि सहभागी हुँदैछन् । माओवादीले यो सम्मेलनलाई भट्किलो नबनाउने बताएको छ ।

माओवादीले काठमाडौँको कमलादीमा आयोजना गर्न लागेको यो सम्मेलनमा विदेशबाट कुनै पनि अतिथिलाई नबोलाउने भएको छ । भने देशका पनि कुनै पनि राजनीतिक दललाई पनि नबोलाउने उसले जनाएको छ । यसरी कुनै पनि दललाई नबोलाउने भनि गरेको निर्णयलाई धेरैले आलोचनात्मक रुपमा हेरेका छन् ।

२०७७ पुष ५ गतेपछि नेपालको राजनीतिमा अनेक घटनाक्रमहरु विकसित भए । जसको फलस्वरुप नेकपा विभाजित भयो । नेकपा विभाजित भएर अहिले ३ वटा पार्टी बनेका छन् । ३ वटा बनेको मध्ये नेकपा एमालेले चितवनमा १० औँ महाधिवेशन सम्पन्न गरिसकेको छ ।

एमालेको १० औँ महाधिवेशनमा नेकपा माओवादी केन्द्रका तर्फबाट लिलामणि पोखरेल सहभागी थिए । नेपाली कांग्रेसको काठमाडौँमा भएको १४ औँ महाधिवेशनमा भने अध्यक्ष प्रचण्ड नै सहभागी भएर शुभकामना दिएका हुन् । प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौँको एकता महाधिवेशनमा पनि सहभागी भएर शुभकामना दिए । तर, उनी एमालेको महाधिवेशनमा भने सहभागी भएनन् ।

प्रचण्ड एमालेको महाधिवेशनमा नजानुले दुई पार्टीबीचको दूरी कम गर्ने अवसर चुकाएको बामबृत्तमा चर्चा छ । प्रचण्ड र ओलीबीच नेपाली कांग्रेसको महाधिवेशनमा सामान्य शिष्टाचार भने भएको छ । तर, उनीहरुबीच अझै सम्बन्ध सामान्यीकरण भइसकेको अवस्था छैन । उनीहरु एक अर्काप्रति लक्षित गरेर सार्वजनिक भाषणाबाजी गरिरहेका छन् । यसले दूरी बढाउन काम गरिरहेको छ । 

माओवादीले कुनै पनि पार्टीलाई सम्मेलनमा आमन्त्रण नगर्नुको पछाडि एमाले कारण रहेको चर्चा चुलिएको छ । माओवादी नेताहरु यसलाई खास कारण मान्दैनन् । उनीहरुको मत छ- माओवादी यस पटक सम्मेलनमा नेपालको बद्लिदो परिस्थितिको शूक्ष्म संष्लेषण गर्न चाहन्छ । नेपालमा आभारभूत रुपमा जनवादी क्रान्ति पुरा भएको छ । अब जाने भनेको समाजवादी क्रान्तिमा नै हो ।

समाजवादी क्रान्तिमा जानु आफैमा नयाँ परिघटना हो । समाजवादबारे विश्वमा र नेपालमा पनि विभिन्न बुझाइ छ । वास्तवमा समाजवादको नेपाली मोडल कस्तो हुने भन्नेमा जोड दिएर बहस आवश्यक छ । माओवादी केन्द्र वैज्ञानिक समाजवादको वकालत गर्दै आइरहेको छ । यसका लागि माओवादीले सम्मेलनलाई बहसमा केन्द्रित गरेर बाँकी कुरालाई सामान्य रुपमा गर्न खोजेको मात्र हो । यो अरु केही पनि होइन । 

माओवादीले सम्मेलनबाट २९९ जनाको केन्द्रीय समिति बनाउन लागेको छ । माओवादीमा पदाधिकारी कति र कस्तो हुने भन्नेमा अझै ठोस निर्णय भइसकेको छैन । पार्टीमा अध्यक्षका लागि प्रचण्डसँग प्रतिष्पर्धा गर्ने दोस्रो पात्र यहाँ देखिएको छैन । तर, अध्यक्षपछिको कार्यकारी पद महासचिवमा भने जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन अनन्तबीच प्रतिष्पर्धा हुने देखिएको छ । यहाँ पुनभन्दा प्रभाकर कार्यकर्ता मैत्री रहेको बुझाइ पनि छ । तर, उनमाथि कर्णालीलाई मात्र लाभको पदमा प्राथमिकतामा राख्ने गरेको आरोप छ । 

यस्तै कृष्णबहादुर महरा र नारायणकाजी श्रेष्ठको व्यवस्थापन पनि चुनौतिपूर्ण रुपमा रहेको छ । उनीहरु सम्भवत: उपाध्यक्ष रहने हुन सक्छ । तर, महासचिवमा भने महराको साथ जसलाई हुन्छ उसले बाजी मार्ने देखिएको छ । महरा अहिले पनि माओवादीमा निर्णायक शक्तिका रुपमा रहेका छन् । यद्यपि माओवादीमा गूटबन्दीले सीमापार नगरिसकेको हुनाले प्रचण्ड नै अहिलेसम्म निर्णायक शक्तिका रुपमा रहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.