काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली राजनीतिक दल अधिकार प्राप्त गर्न सक्षम रहेको, तर आफ्नो कर्तव्य बिर्सेको बताएका छन् ।
प्रज्ञा भवनमा आजबाट सुरु भएको माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना दिने क्रममा उनले सो बताएका हुन् ।
उनले राष्ट्रियताको स्वार्थमा एक हुनुपर्ने बताएका छन् । विकास र समृद्धिमा राजनीतिक दल मिल्न नसकेको समेत बताए ।
उनले अघिल्लो आम निर्वाचनमा एमाले र माओवादी मिलेर जनताको विश्वास जितेपनि एकता जोगाउन नसकिएको बताए ।
‘कार्यनीति र स्वार्थको प्रश्नमा अल्झिएका कारण हाम्रा महान उद्देश्यहरु प्रभावित भएका छन् । नेकपा गठनको उद्देश्य सही थियो । नेकपाको एकता जोगाउन नसकिएकोमा मलाई पछुतो छ’, पोखरेलले भने ।
उनले राष्ट्रिय स्वाधीनता र परराष्ट्र मामिलाका सन्दर्भमा नेपालका सबै राजनीतिक दलहरु एकै कित्तामा उभिनुपर्नेमा जोड दिए । ७ दशकदेखि नेपालमा पटक–पटक राजनीतिक क्रान्ति भएनपनि परिवर्तनको प्रत्याभूति दलाउन नसकिएको बताए ।
‘राजनीतिक क्रान्ति गर्न सक्यौ तर परिवर्तन र समृद्धिको एजेण्डालाई अगाडि बढाउन सकेनौं । यसमा भएका कमजोरीबारे सबै दलहरुले आत्मसमिक्षा गर्नुपर्छ’, पोखरेलले भने ।