काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनमा शान्ति प्रक्रियायता कहाँ–कहाँ चुक भयो त्यसको गम्भीर आत्मसमीक्षा हुने बताएका छन् ।
आइतबारबाट सुरु भएको महाधिवेशनलाई संबोधन गर्ने क्रममा उनले सो बताएका हुन् । संबोधनका क्रममा उनले प्रधानमन्त्री एवं कांग्रेससभापति शेरबहादुर देउवाको तारिफसमेत गरे।
माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना दिन उपस्थिति भएका देउवाले प्रचण्डको प्रसंसा गर्दै प्रचण्डकै कारण देशमा संविधान बनेको बताएका थिए । मुख्यतया यही अभिव्यक्तिलाई लिएर प्रचण्डले देउवाको प्रसंसा गरेका थिए ।
सो क्रममा उनले आजको अभिव्यक्तिका कारण प्रधानमन्त्रीजी कांग्रेसभित्रै आलोचित हुनुपर्ने पो हो कि भन्दै देउवाप्रति शुभेच्छासमेत प्रकट गरे ।
‘देउवाजी बडो सुन्दर बोल्नुभयो,’ आइतबार माओवादी केन्द्रको महाधिवेशनमा सम्बाधेन गर्दै प्रचण्डले भने, ‘उहाँ बडो सोझो पनि देखिनुहुन्छ । तर, उहाँले इतिहासमा खास–खास ‘स्टेटमेन्ट’ दिनु भएको छ । प्रधानमन्त्री हुँदा विद्रोही नेतालाई बडो बहादुर भनिदिनुभयो । यो सामान्य खालको कुरा होइन ।’
संविधान निर्माणमा प्रचण्डको भूमिकाबारे देउवाले राखेको भनाइको पनि उलने प्रशंसा गरे। प्रचण्डले भने, ‘बडो इमान्दारिकता पूर्व माओवादीको भूमिकाबारे जे भन्नुभयो, साँच्चै राम्रो ढंगले भन्नुभयो ।’
उनले थपे, ‘मलाई त अलि अलि डर लागेको छ, कतै आज कांग्रेसका उहाँको आलोचना हुन्छ कि ।’
गठबन्धन निरन्तर जानेबारे देउवाले बोलेको कुराको पनि प्रचण्डले तारिफ गरे। उनले भने, ‘उहाँले गठबन्धन परसम्म जान्छ भन्नुभयो । हामीलाई चाहिएको त्यही हो ।’
एमसीसीबारे देउवाले राखेको भनाइ भने व्यक्तिगत भएको प्रचण्डको भनाइ छ । ‘एमसीसीबारे उहाँले आफ्नो विचार भन्न्नुभयो,’ उनले भने, ‘हामी छलफल गर्र्दैं छौं, छलफल गरेर तय गर्र्छौं भन्नुभयो । यो बडो ठूलो कुरा हो ।’