खोटाङ । कुमार राई सानो छँदा युद्धका अनेक किस्सा आफ्ना आमाबुवाबाट सुन्थे । बुवा दलबहादुर भारतीय सेनाबाट रिटायर्ड भएकाले आमा मधुमायाबाट पनि युद्धका विषयमा कथा सुन्ने अवसर पाएका थिए ।
आङ नै सिरिङ्ग हुने युद्धका कथा सुनेका कुमारले आफ्नै जीवनमा यस्ता बज्रपात आइलाग्ला भनेर कल्पना पनि गरेका थिएनन् । खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुले सालम्बुका कुमारले शोषक(सामन्तविरुद्ध लड्ने क्रममा विद्यार्थी जीवनमा १६ वर्षको उमेरमा २०३६ मा बन्दुकको तारो बन्नु पर्यो, गोलीको शिकार हुनुपर्यो ।
पाकिस्तानका प्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई फाँसिदिएको केही समय बितेको थियो । भुट्टो हत्यामा सुरु भएको विरोधको बाछिटा नेपालसम्म आइपुगेको थियो । त्यो विरोधले नेपालको राजनीतिक आन्दोलनलाई पञ्चायती व्यवस्था, त्यो बेलाका शोषक र सामन्तविरुद्धसमेत तताएको थियो । विद्यार्थी पनि आन्दोलित थिए ।
त्यो बेला कुमार चिसापानी माविमा कक्षा ९ मा पढ्थे । सोही विद्यालयका अनेरास्ववियु एकता पाँचौको तदर्थ समितिका अध्यक्ष पनि थिए । त्यही समयमा छिमेकी जिल्ला भोजपुरको वासिङथर्पु ९हाल आमचोक गाउँपालिका(१०मा तत्कालीन जिल्ला पञ्चायत सदस्य अमर कार्कीले गाइवस्तुले बाली खाएको निहुँमा एक बालकलाई थुनाएको खबर फैलियो ।
जिल्ला पञ्चायत सदस्य कार्कीविरुद्ध कुमार १६ जना विद्यार्थीको टोली लिएर वासिङथर्पुमा कोलपाटेको घर पुगे, उनी । कोलपाटेको घर भोजपुर र खोटाङतर्फका विद्यार्थीले घेरा हाले । कार्कीलाई कोलपाटेको परेवाको गुँडमा लुकाइएको रहेछ । विद्यार्थीले निकालेर पाता कसेर लडाए ।
प्रहरीको उपस्थितिमा घरभित्र वार्ता सुरु भयो । त्यहीबेला प्रहरीले फायर खोल्यो । कुमारको छाती र देब्रे कोखामा रिभल्वरको गोली लागेको कुमार स्मरण गर्छन् । विद्यार्थीको भागाभाग मच्चियो । त्यो दिन थियो १९ भदौ २०३६ ।
चिसापानी माविबाटसँगै गएका अनेरास्ववियु एकता पाँचौको तदर्थ समितिका सचिव केशर बस्नेतलाई पनि पाखुरामा गोली लागेको थियो । अन्य विद्यार्थी पनि घाइते भए । रगत बगेर शरीर रक्ताम्मे बनेपछि उनले आफूलाई गोली लागेको निश्चित गरेका थिए । केटाकेटीछँदा बुवाआमाले सुनाएको युद्धका कथा उनले त्यो बेला सम्झिए । भागदौडका क्रममा भागेर केहीमाथि निस्किएका कुमारलाई केहीबेरपछि साथीभाइले भेट्टाएका थिए । शिक्षक कुमार राई, हिमालधन राई लगायतको नेतृत्वमा जिल्ला पञ्चायत सदस्यविरुद्ध विरोध चर्काइएको थियो । हालै प्रदेश १ को मुख्यमन्त्रीबाट राजीनामा दिएका शेरधन राई पनि त्यतिखेर विरोध कार्यक्रममा थिए ।
कुमारको छाती र कोखामा लागेको गोली शरीरभित्रै थियो । गोलीले शरीर वारपार गरेको थिएन । उनलाई उपचारका लागि धरान झारियो । घोपा क्याम्पमा राजाको सिफारिस चाहिने भन्दै भर्ना लिन अस्वीकार गरियो । गोलीले लागेको भनेपछि उपचार पाउन कठिन थियो ।
अझ त्यो बेलाका शासकविरुद्ध लडेको भनेपछि उपचार पाउनु चानचुने कुरा थिएन । त्यसपछि उनलाई कोसी अञ्चल अस्पताल विराटनगनर पुर्याइयो । त्यहाँ पनि निको नभएपछि उनलाई वीर अस्पताल लगेर चार महिना उपचारमा राखेपछि ठीक भए । उनको शरीरमा भएको गोली निकालियो । पक्राउ पर्ने डरले कतिपय घाइतेको उपचार नै नभएको कुमार बताउँछन् ।
१ मंसिर २०१९ मा जन्मिएका कुमार साथीभाइ माझ प्रखर वक्ताका रुपमा परिचित थिए । महाकारी सन्धीको विषयले एमाले विभाजन हुँदा उनी मालेतिर लागे । एमाले र माले एक ठाउँमा आएपछि एमालेको १२ नम्बर इलाका इन्चार्ज, जिल्ला कमिटी सदस्य बने । राष्ट्रिय शिक्षक संगठनको सदस्य हुँदै सहसचिवसम्म भए । शिक्षक युनियनको संस्थापक जिल्ला सदस्य पनि बने । ३५ वर्षे शिक्षण पेशाबाट दुई वर्षअघि अवकाश लिएर बसेका राई हाल नेकपा ९एकीकृत समाजवादी०का सचिवालय सदस्य छन् ।