माओवादी महाधिवेशन : पदाधिकारीमा युवाको सम्भावना शून्य

काठमाडौं । नेपाली कांग्रेस र एमालेमा पछिल्लो समय युवाको बहुल्यता ह्वात्तै बढेको छ । एमालेमा एक दशक अघि युवा पुस्ताको उपस्थिति नभएको भए एमाले अहिलेको स्थितिमा हुने थिएन । 

अहिले कांग्रेसमा युवा पुस्ताको आकर्षण झनै बढेको छ । गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्रीको निर्वाचन जित्नुले यसलाई प्रमाणित गरेको छ । 

माओवादीमा पनि युवाको प्रतिनिधित्व बढेर गएको छ । प्रचण्ड ३४ वर्ष अघि युवाको रुपमा पार्टी हाँक्न आइपुगेका थिए ।
मशालदेखि माओवादी केन्द्रसम्म आइपुग्दा उनले पार्टी राजनीति र सत्ता दुबैको नेतृत्व गरेका छन् ।

माओवादीको वर्तमान विधानमा युवाहरुको प्रतिनिधित्व २० प्रतिशत रहने उल्लेख छ । 

माओवादीको अन्तरिम विधान २०७८ मा पार्टीलाई बहुपदाधिकारीमा लैजाने भनिएको छ । हालको विधान अनुसार माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति २ सय ९९ हुने भएको छ । जसमा १५ जना पदाधिकारी रहनेछन् ।

बैठकबाट पारित विधानअनुसार माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहनेछ ।

एमालेसँग पार्टी एकता हुँदा ४० प्रतिशत हिस्सा पाएको माओवादीको नेता व्यवस्थापन त्यही अनुसार भएको थियो । अदालतको फैसलापछि पुनः स्थापित भएको माओवादीले पुरानै संरचनालाई निरन्तरता दिएको छ । 

स्थायी कमिटीमा रहेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लोखराज भट्ट र मणि थापा एमालेमै रहेपछि हाल माओवादीको स्थायी कमिटी १४ सदस्यीय छ । पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल, हरिबोल गजुरेल, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, गणेश शाह, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र चक्रपाणी खनाल स्थायी समति सदस्य छन् । नयाँ पदाधिकारीमा पनि यी स्थायी कमिटीहरुमध्येबाट पर्ने सम्भावना छ ।

अध्यक्ष पछिको कार्यकारी पद रहेकाले महासचिव बन्न दौडधुप निकै छ । कृष्णबहादुर महरा, देव गुरुङ, हरिबोल गजुरेल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मालगायत महासचिवका दाबेदार हुन् । पार्टीभित्र केन्द्रदेखि तल्ला तहसम्म बलियो गुट भएकाले वर्षमान पुन र जर्नादन शर्मा बलिया दाबेदार हुन् । शर्मा कुनै पनि हालतमा पछि नहट्ने सोचमा छन् । शर्मा मन्त्रिमण्डलमा अर्थमन्त्री हुनुको साथै पार्टीको संगठन विभाग प्रमुख पनि हुन् । अस्वस्थ भएपछि पुन चीनमा उपचाररत छन् । 

पार्टी मजबुत पार्न भन्दै प्रचण्डले महासचिवमा महरालाई ल्याउन पनि सक्छन् । किन की महराले विप्लव, वैद्यलगायतसँग पार्टी एकीकरणका लागि पहलसमेत गरिरहेका छन् । 

महासचिव बाहेकका पदमा भने त्यति गाह्रो हुने छैन । प्रचण्डपछिको दोस्रो वरियतामा नारायण काजी श्रेष्ठ रहनेछन् । दोस्रो वरियतामा अधिकांश स्थायी कमिटी सदस्यले श्रेष्ठलाई स्वीकार गरेका छन् । महरा महासचिव नरहे उपाध्यक्ष हुनेछन् । पम्फा भुसाल, हरिबोल गजुरेल, देव गुरुङ र गिरीराजमणि पोखरेल लगायतका नेताहरू पनि उपाध्यक्ष रहने सम्भावना छ । 

उपमहासचिवमा मात्रिका यादव, देवेन्द्र पौडेल, शक्ति बस्नेत, चक्रपाणी खनाल, गणेश साह लगायतको सम्भावना छ । सचिवमा लिलामणि पोखरेल, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, हितमान शाक्य, लेखनाथ न्यौपाने, महेन्द्रबहादुर शाहीलगायतको सम्भावना छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.