प्रचण्डको प्रतिवेदन : '२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो'का आर्थिक चुनौति
नेपालले भौतिक पूर्वाधार विकासमा अमेरिकी अनुदानलाई प्राथमिकतामा राख्नु हुँदैन भन्ने मत माओवादीमा जबरजस्त छ । गतिशील विदेश नीति अपनाएर भौतिक पूर्वाधार विकास गर्नुले समाजवादको यात्रालाई सहजता नै दिनेछ ।

काठमाडौँ । पुष ११ गतेदेखि १५ गतेसम्म नेकपा माओवादी केन्द्रले काठमाडौँमा आठौँ महाधिवेशन गरिरहेको छ । महाधिवेशन अन्य विषयमा भन्दा विचारमा केन्द्रित जस्तो देखिएको छ । यो महाधिवेशनमा अध्यक्ष प्रचण्डले '२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो' शीर्षकको राजनैतिक प्रतिवेदन पेश गरेका छन् ।

प्रचण्डले उद्घाटन सत्रमा सम्बोधन गर्दा विश्व राजनीतिको विमर्शमा जोड दिएका थिए । साथै अहिलेको वित्तीय एकाधिकार पूँजीवादबारे पनि उनले चर्चा गरेका थिए । वित्तीय एकाधिकार पूँजीवादको राजनीति र समाजमा रहेको असरबारे पनि उनले चर्चा गरेका थिए ।

अहिले वैश्विक पूँजीको केन्द्र भागमा अमेरिका नै छ । अमेरिकाको कूल ग्राहस्थ्य उत्पादन २२.९४ ट्रिलियन छ । चीनको १६.८६ ट्रिलियन छ । भारतको २.९५ ट्रिलियन छ । नेपालको भने ०.०३ ट्रिलियन छ ।

कम्युनिष्टहरुको राम्रो उपस्थिति रहेको नेपालमा अर्थतन्त्रको मूल प्रवृति पूँजीवादी नै छ । नेपाली बजार राज्य नियन्त्रित छैन । बजार आफ्नो नियम आफैले बनाइरहेको छ । यस्तो अवस्थामा नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको दल माओवादीको महाधिवेशनले कस्तो निर्णय लिनेछ, त्यसको प्रभाव पर्ने नै छ ।

महाधिवेशनले पूँजीको मूल हिस्सा पूँजीपतिहरुबीच मात्र घुमिरहेको निष्कर्ष निकालेर पूँजीको चक्र सीमान्तकृत जनताबीच लैजाने कार्यक्रम बनाउन जरुरी छ । यसका लागि बै‌ंकहरुको राष्ट्रियकरण एउटा पक्ष हाे । 

माओवादीहरु निरन्तर सत्तामा गएपनि उनीहरुले समाजवादी मोडल अनुसारको कार्यक्रम तय गर्न सकेका छैनन् । अहिले छिमेकी मुलुक चीन र अमेरिकाबीचको शक्ति संघर्षका कारण त्यसको असर नेपालले पनि भोगिरहेको छ । व्यापार युद्धका बाछिट्टा नेपालमा पनि परिरहेको छ । यस सम्बन्धमा महाधिवेशनले गुट निरपेक्षताको विदेश नीतिबाट बाहिर निस्कने आँट गर्नु सक्नु नेपालको सन्दर्भमा अब वैज्ञानिक निर्णय हुनेछ ।

बेलायतको कन्सलटेन्सी सिवरले गरेको अध्ययनअनुसार सन् २०३० पछि चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने देखिएको छ । यसकारण पनि नेपालले भौतिक पूर्वाधार विकासमा अमेरिकी अनुदानलाई प्राथमिकतामा राख्नु हुँदैन भन्ने मत माओवादीमा जबरजस्त छ । गतिशील विदेश नीति अपनाएर भौतिक पूर्वाधार विकास गर्नुले समाजवादको यात्रालाई सहजता नै दिनेछ ।

आर्थिक उत्पादनका दृष्टिले भारतले आगामी वर्षमा फ्रान्सलाई र दुई वर्षपछि बेलायतलाई उछिनेर विश्वकै छैटौँ ठूलो अर्थतन्त्र भएको देश बन्ने अध्ययनले जनाएको छ ।  प्रतिवेदनअनुसार आर्थिक उत्पादनका दृष्टिले जर्मनीले सन् २०३३ मा जापानलाई उछिन्ने छ । सन् २०३६ सम्ममा रसिया विश्वकै १० ठूला शक्तिशाली अर्थतन्त्र भएका देशहरुको सूचीमा रहने छ । सन् २०३४ मा इन्डोनेशिया नवौं स्थानमा रहनेछ ।

गत वर्ष वर्ल्ड इकोनोमिक लिग टेबुलले प्रकाशित गरेको एक अध्ययनमा सन् २०२८ मा चीन विश्वकै सर्वाधिक शक्तिशाली अर्थतन्त्र देश हुने जनाइएको थियो । यो प्रतिवेदनले नेपालको अर्थतन्त्रबारे पनि चर्चा गरेको छ । उसको रेकर्डमा नेपाल २०२० मा ९८ औँ स्थानमा छ । प्रतिवेशनले २०३५ सम्ममा नेपाल ३ स्थान झरेर  ९५ औँ स्थानमा आउने प्रक्षेपण गरिएको छ । प्रतिवेदनले नेपालको औसत वार्षिक वृद्धिदर ४.४ प्रतिशतको हुने प्रक्षेपण गरेको छ । यस्तो प्रक्षेपण भएपनि नेपालको अर्थतन्त्रमा कोभिडको प्रभाव न्यूनीकरण गर्ने कुनै योजना देखिएको छैन । साथै व्यापार घाटा चुलिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको मंसिर सम्ममा नेपालले ८ खर्व ३८ अर्व रुपैयाँको वस्तु आयात गर्दा १ खर्व २ अर्व निर्यात गरेको छ । जसले गर्दा ७ खर्व ३५ अर्व व्यापार घाटा भएको छ । 

नेपालको कुल व्यापार घाटामध्ये आधाभन्दा बढी व्यापार घाटा भारतसँग देखिएको छ । चालु आवको मंसिर सम्ममा भारतमा नेपालबाट ८४ अर्व १५ करोड बराबरको निर्यात हुँदा ५ खर्वभन्दा बढीको आयात भएको छ । भारतपछि चीन, इन्डोनेसिया, अर्जेन्टिना, यूएई, अस्ट्रेलिया, अमेरिका लगायतका देशसँग व्यापार घाटा बढिरहेको छ ।

भारतपछि चीनसँग नेपालको १ खर्व २१ अर्व व्यापार घाटा  छ । मंसिर सम्ममा नेपालबाट चीनमा ३८ करोड रुपैयाँ बराबरको सामान निर्यात हुँदा १ खर्व २२ अर्व बराबरको आयात भएको छ । 

बढ्दो व्यापार घाटाका कारण कमजोर अर्थतन्त्रको जग चाँडै नै भत्किन सक्छ । अहिलेलाई व्यापार घाटा शून्यमा झार्ने कार्यक्रम नै लोकप्रिय हुन्छ । यसका लागि सामूहिक उत्पादनमा जोड दिने कार्यक्रम अख्तियार गर्न सकिन्छ । साथै ग्रामीण अर्थतन्त्रलाई विकास गर्न बैंकहरुको राष्ट्रियकरण गर्न सकिन्छ । जसका कारण शेयरबजार, घरजग्गा जस्ता अनुत्पादक क्षेत्रको लगानी कटौति गर्न सजिलो हुनेछ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.