माओवादीको पार्टी जीवनमा गम्भीर समस्या र सांस्कृतिक विचलन देखिएको छः नारायणकाजी श्रेष्ठ

काठमाडौं ।  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको बताएका छन् । माओवादीको आठौं महाधिवेशनको बन्द सत्रपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको र महाधिवेशनपछि क्रान्तिको नेतृत्व गर्ने बताए ।

‘पार्टी जीवनमा गम्भीर समस्या छन् । व्यक्तिवाद, गुटवाद र आर्थिक स्पष्टीकरण जस्ता समस्या देखिएको छ । अराजकता, सांस्कृतिक विचलन देखा परेको छ । वैचारिक र सांस्कृतिक रूपमा पार्टीलाई अर्को ठाउँमा पुर्‍याउन यथास्थितिवादसँग सम्बन्ध विच्छेद गर्नुपर्छ भन्ने अध्यक्षले जुन राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ, त्यो वैचारिक मन्थन गरेपछि मात्र सम्भव छ,’ श्रेष्ठले भने ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमा क्रान्तिकारी विचारको विकास गर्ने, पुँजीवादको विकासलाई मार्क्सवादसँग जोड्ने, विज्ञान र प्रविधिमा भएको विकास, जलवायु र वातावरणको विकासलाई मार्क्सवादसँग जोड्ने किसिमले आएको भन्दै उनले प्रतिवेदनबाट निस्केको विचारपछि पार्टी सशक्त हुने बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.