क्रिसमसलाई महत्व दिँदै सरकार, अन्यायमा आदिवासी

काठमाडौं । केही दिन अघि नेवार समुदायले योमरी पून्ही मनायो । सोही दिन राई समुदायले उद्यौली र लिम्बु समुदायले चासोक तङ्नाम मनाए । 

यी पर्वका दिन सरकारले समुदायअनुसार विदा दियो । काठमाडौं उपत्यकामा भने सार्वजनिक बिदा नै दिइयो । पाश्चात्य जगतबाट भित्रिएको क्रिसमसका लागि भने सरकारले पौष १० गते सार्वजनिक विदा दिने निर्णय गर्‍यो । 

बहुभाषी, बहुजाति र बहुधर्म कायम रहेको हुँदा प्रत्येक समुदायको आ–आफ्नै चालचलन, रितिरिवाज र चाडपर्व छन् । ठाउँ विशेष ती समुदायको बाहुल्यता छ । बहुल संख्याका समुदायले मनाउँदै आएको चाडपर्व लक्षित गरी राखिएको विदालाई सरकारले कटौती गर्दै आएको छ । 

तामाङ, गुरुङ, शेर्पा जातिले मनाउँदै आएको ल्होछारको विदा कटौती भएको छ । यसै गरी नेवार समुदायले मनाउने योमरी पून्ही, राई जातिले मनाउने उद्यौली, उभौली र लिम्बु जातिले मनाउने चासोक तङ्नाममा पनि समुदाय लक्षित विदा दिन थालिएको छ । 

थारु जातिले मनाउने माघी होस् अथवा अन्य जातिले मनाउने समुदाय विशेष चाँड होस्, सरकारले समुदाय लक्षित बिदा दिन थालेको छ । नेपालभित्रै पुर्खाैदेखि चलिआएको चाँडपर्वलाई सरकारले खासै महत्व दिएको छैन । जुन महत्व पश्चिमेली मुलुकबाट भित्रिएको क्रिसमसलाई दिइएको छ । 

लोपोन्मुख अवस्थामा पुगेका कतिपय आदिवासी जनजाति समुदायको चाँडपर्वलाई जोगाउन सरकारले महत्व दिएको छैन । देशलाई बहुसंस्कृति, बहुपरम्पराको रुपमा चिनाउने जनजाती समुदायका चाँडबाडलाई सरकारले अझै पनि प्राथमिकतामा राख्न सकेको छैन । तर, आयातित परम्पराका लागि सार्वजनिक विदाको निर्णय गर्दै गर्दा कतै बहुसंकृतिमाथि नै आँच आउने हो कि ? लोपोन्मुख अवस्थामा पुगेको समुदायको परम्परा आयातित परम्परामा ढल्किदै गएमा नेपाललाई बहुसांस्कृतिक देशको रुपमा चिनाउन सक्षम बन्ला र सरकार ?

कतिपय विदेशी पाहुनाको स्वागत सत्कार गर्दा होस् अथवा राष्ट्रिय स्तरका कार्यक्रममा होस् विविध संस्कृति झल्किने बाजागाजा, भेषभूषा र सँगीतलाई अघि उभ्याइएको हुन्छ । नेपालको पर्यटन क्षेत्रमा समेत बहुसंस्कृति, बहुपरम्पराले ठूलो सघाउ पु¥याएको छ । यो अवस्थामा स्थानीय स्तरका चाँडबाडलाई भन्दा आयातित चाँडलाई प्राथमिकतामा राख्दै गर्दा यसको असर कस्तो पर्ला ? भन्नेमा सरकारका सचेत हुनु पर्छ । यसको अर्थ सरकारले कुनै धर्मलाई प्राथमिकतामा राख्ने र कुनैलाई प्राथमिकतामा नराखोस् भन्ने होइन तर सरकारले स्थानीय मौलिक संस्कृतिको संरक्षण भने गर्न जरुरी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.