काठमाडौँ । माओवादी केन्द्रको आठौँ प्रज्ञा भवनमा जारी छ । नेकपा माओवादीले देशको परिवर्तनका लागि गरेको जनयुद्धमा हजारौँले ज्यान गुमाएका छन् ।
२०५२ मंसिर १ गतेबाट नेपालमा भएको माओवादी शसस्त्र युद्धका क्रममा घाइते लडाकु तथा अपांगहरुको अवस्थामा व्यवहारिक परिवर्तन भएको छैन । उनीहरुलाई राज्यले हेरचाह तथा राहत उपलब्ध गराएपनि पूर्ण रुपमा व्यवस्थापन गर्न सकेको छैन ।
यस विषयमा चासो देखाउनु भन्दा पनि माओवादी पार्टी सत्ताको लागि अगाडि बढिरहेको छ । जनयुद्धकी घाइते लडाकु चेतना बाँडा भन्छिन ‘आफ्नो वेदना कसलाई सुनाउने । श्रीमानलाई सुनाउँ भने पनि उँहाको खुट्टै छैन । छोराछोरीलाई सुनाउँ भने पनि उनीहरु सानै छन् ।’
शान्ति प्रक्रियापछि माओवादी नेताहरु सत्ताको यात्रामा लागे । लडाकुहरुमध्ये कोही समायोजन रोजेर सेनामा गए भने कोही रकम बोकेर घर फर्के । युद्धको समयमा नै आधा शरीर गुमाएका घाइते लडाकुहरु न सेनामा जान सक्षम भए न घर फर्कन नै सके ।
घाइते लडाकुहरुको बारेमा सरकारले तथा नेताहरुले चासो नदेखाएकोमा उनीहरु भकानिएर रुन बाध्य छन् । यसको व्यवस्थापन तथा राज्यले जिम्मा नलिएको बारेमा उनीहरुको ठूलो गुनासो रहेको छ ।
युद्धको समयमा दुबै आँखा गुमाएका घाइते लडाँकु लालबहादुर वली भन्छन ‘हामीले गर्दा देश यहाँसम्म आइपुग्यो । लडाँकुहरुको योगदान देशका लागि रह्यो तर हाम्रा लागि केही भएन ।’ राहत तथा अनुदानका विषयमा कुरा उठाउँदासमेत युद्धको समयमा घाइते भएको प्रमाण माग्ने गर्छन् ।
उनका अनुसार शान्ति प्रक्रिया भएको १५ वर्ष भइसक्दा पनि यस्ता पीडा भोग्न नपर्ने हो । अहिलेसम्म समस्या हल हुन सकेको छैन । युद्धको समयमा घाइते पारिएको हो भने र बेपता पारिएको हो भने किन त्यस्तो गरियो ? हाम्रो पहिचान हुनुपर्छ भन्ने माग लालबहादुर बलीको रहेको छ ।